काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले एमाले–कांग्रेस गठबन्धनबाट पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा आशंका व्यक्त गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको राजनीति र चेरापुञ्जीको मौसमको कुनै भर नहुने बताएका हुन् । कांग्रेस–एमाले सत्ता गठबन्धन जतिबेला पनि तलमाथि हुनसक्ने उनको भनाइ छ ।
‘नेपालको राजनीति हो । अहिले मौसम विभागले वैज्ञानिक प्रविधिबाट मौसम पूर्वानुमान गर्छ नि, त्यो पनि विदेशको जस्तो छैन, फ्याक्ट निकाल्न सकेको छैनन् । चेरापुजीको मौसम र नेपालको नेताहरु परिवर्तन हुने एउटा एउटै छ । चेरापुञ्जीमा पनि कतिखेर पानी पर्छ, कतिखेर घाम लाग्छ थाहा छैन । यहाँ पनि थाहा छैन । त्यसकारणले अहिले भन्न सकिँदैन,’– उनले भने ।
नेता कार्कीले एमाले–कांग्रेसबीच भएको पछिल्लो सात बुँदे सहमतिलक्षित गर्दै त्यस्ता सहमति विगतमा धेरै पटक पालना नभएको स्मरण गराए । उनले केपी ओली–प्रचण्ड र प्रचण्ड–देउवाबीच विगतमा थुप्रै पटक आलोपालोको कागज भएको बताए । एमाले अध्यक्षसमेत रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विगतमा कांग्रेससँगको विश्वास गुमाइसकेकाले उनको घोषणाको कुनै अर्थ नरहेको बताए ।
‘केपी ओली र प्रचण्डको बीचमा सरकार आलोपालो गर्ने कतिवटा कागज भए, प्रचण्ड र शेरबहादुर देउवाको बीचमा सरकार आलोपालो गर्ने कतिवटा कागज भए ? कागज नै कागज भए नि । केपी शर्मा ओलीले धेरै पहिलादेखि धेरै कुराहरु घोषणा गर्नुभएको छ, होईन र ? उहाहरु भन्दा बाहेकको मान्छे कसैले भन्यो भने अलिकति पत्याइन्छ कि भन्ने कुरा हो । उहाँहरु बाटै भनेको कुरालाई भोलि उहाँहरु कहाँनिर पल्टिनुहुन्छ थाहा नभएको र हिजो–अस्ती पल्टिरहेको देखिराखिएकाले जबसम्म रिजल्ट आउँदैन । त्यसलाई शंका र आशाको घेरामा नै राख्नुपर्छ,’– उनले भने ।