Logo

पार्टीमा कार्यविभाजन नहुँदा प्रचण्डलाई लोड भयो, अरु नेताहरु बेरोजगार बनेः महेन्द्रबहादुर शाही (भिडिओसहित)



काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीभित्र कार्यविभाजन नहुँदा अध्यक्ष प्रचण्डलाई बढी लोड भएको र अरु नेता तथा कार्यकर्ताहरु बेरोजगार बनेको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संगठनको मामिलामा सबैलाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा खटाउनुपर्ने बताएका हुन् । उनले पार्टी उपमहासचिव जनार्दन शर्माले उठाएको विषय पनि यही रहेको दाबी गरे । माओवादीमा प्रचण्डको विकल्प कसैले पनि नखोजेको उनको दाबी छ । समग्र नेतृत्व प्रचण्ड नै हो, उनको नेतृत्वको विकल्प अहिले सम्भव छैन भन्ने कुरामा माओवादीभित्र सबै जना प्रष्ट रहेको उनले बताए । नेता शाहीले माओवादी कमजोर भएकाले पार्टी बलियो बनाउन क–कसले के त्याग गर्ने हो, खट्न सक्ने युवाहरुलाई जिम्मेवारी दिउँ भनेर उपमहासचिव शर्माले प्रस्ताव गरेको बताए ।

ं‘उहाँ (जनार्दन) ले उठाउनुभएको कुरा भनेको संगठनको मामिला हो । किनकी कार्यविभाजन गर्नुपर्यो, अध्यक्ष कमरेडलाई बढी लोड भयो । अन्य सबै नेता, कार्यकताहरु बेरोजगार भए । अब सबैले कार्यविभाजन गरौं, आ–आफ्नो काममा लागौं भन्ने कुरा हो । तर, अहिले नै प्रचण्डको विकल्प भन्ने कुरा चाहीँ जनार्दन शर्माको पनि होईन । उहाँले स्पष्ट नै भन्नुभएको छ, वैचारिक नेतृत्व, सरकारको नेतृत्व र सर्वोच्च चाहीँ प्रचण्ड नै हो । बाँकी संगठन निर्माणका लागि हामीले कार्यविभाजन गरौं । संगठन धेरै कमजोर भयो, अब फिल्डमा लागौं,’– उनले भने ।

अहिलेसम्म माओवादी सत्तामा मात्रै रुमलिइरहेको उनको टिप्पणी छ । उनले माओवादीमा वडादेखि केन्द्रसम्म खाली सत्ताको मात्रै खोजी भएको बताए । उनले अब सत्ताबाहेक संगठन बनाउनुपर्छ र भन्ने कुरा सबैले ध्यान दिन आवश्यक रहेको बताए । सत्ता केन्द्रीत भएर संगठन निर्माणको काम छाडेको कारण नै माओवादी कमजोर भएको उनको निश्कर्ष छ ।



प्रतिक्रिया दिनुहोस्