Logo

संसद्का दुई संयुक्त समितिको नेतृत्व चयन हुँदै, न्यौपाने र गैरे सर्वसम्मत सभापति बन्ने



काठमाडौं,३१ साउन । संघीय संसद्मा रहेको दुईवटा संयुक्त समितिले आज नेतृत्व पाउँदैछ । संसदीय सुनुवाइ विशेष समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले नेतृत्व पाउन लागेको हो । सो समितिको सभापतिमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ ।

सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी नेत्री एवं समिति सदस्य ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको थियो । उनको प्रस्तावकमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र समर्थकमा एमाले सचतेक सुनिता बराल रहेका छन् ।

यस्तै, राज्यका निर्देशक सिद्धान्त समितिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं समिति सदस्य ठाकुरप्रसाद गैरेको उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा एमाले सांसद सरस्वती सुब्बा र समर्थकमा कांग्रेस सांसद दीलेन्द्रप्रसाद बडु रहेका छन् ।

बिहीबार ३ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले उम्मेदवारीसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा उल्लेख छ ।

प्रतिनिधि सभा निर्वाचन भएको करिब डेढ वर्षपछि ती समितिका सभापति चयन हुन लागेको हो । यसअघि संसदीय सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुँदै आएको थियो भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति यही साउन १६ गते गठन भएको हो ।



प्रतिक्रिया दिनुहोस्