Logo

राष्ट्रिय सभामा झक्कुको झटारो: कांग्रेस र एमाले मिलेर ०८४ को चुनाव लडेर देश कब्जा गर्नुस् !



काठमाडौं । नेकपा माअ‍ोवादीका सांसद झक्कुप्रसाद सुवेदीले नेकपा एमाले र नेपाली कांग्रेस मिलेर देशमा लोकत्नत्र मास्न खोजेको टिप्पणी गरेका छन् ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सुवेदीले सन्सारमै नभएको प्रमुख प्रतिस्पर्धी दलहरु मिलेन सरकार बनाएको भन्दै दुवै दल मिालेर ०८४ को चुनाव लड्न सुझाव दिएका छन् । उनले प्रतिनिधि सभाका १६५ मध्ये सबै क्षेत्रमा बराबर भाग लिएर दुई दललाई चुनाव लड्न सुझाव दिँदै देश कब्जा गर्न चुनौती दिए ।

‘नेपालमा अहिले करिब दुईतिहाइको सरकार छ । पहिलो पार्टी र दोस्रो ठूलो पार्टी सरकारमा छन् । दोस्रो पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । तर, यो सरकारले के भन्छ भने विगतका सरकार अस्थिर भए, स्थिरताका लागि यो सरकार बनाएका हौँ, पहिलो र दोस्रो पार्टी मिलेर भनेको छ । म आग्रह गर्न चाहन्छु– किन पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउनुहुन्छ, तपाईंहरू अर्को २०८४ को चुनावमा पनि दुईवटा पार्टी मिलेर जानुस् । त्यसपछि बराबर सिट बाँड्नुस् । एउटा सिट बाँकी रहन्छ, एमालेले मान्छ भने कांग्रेस एक नम्बर भएकाले कांग्रेसले उठाओस् । मान्दैन भने गाई र त्रिशूल गर्नुस् । सबै देश कब्जा गर्नुस् । तपाईंहरूलाई थाहा छ नि, श्रीलंकाका राजपाक्षेले पनि देश त्यसै गरेर कब्जा गरेका थिए । उनको हालत आज के भइरहेको छ । शेख हसिनाको बारेमा सबै जानकार नै हुनुहुन्छ’ उनले भने।

सांसद सुवेदीले जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुने गरी संविधान संशोधन गर्न सुझाव दिए । उनले समानुपातिक निर्वाचन प्रणाली हटाउने र घटाउने नभई पूर्ण समानुपातिकमा जान आग्रह गरे । महिला संसदमा ५० प्रतिशत हुनुपर्ने र समाजअनुसारको संसदको बनावट हुनुपर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्