Logo

नेपालमा सबैभन्दा मिलिजुली गर्ने काम भनेको भ्रष्टाचार हो, हदम्याद राखिनुहुँदैनः गगन थापा



काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारको मुद्दामा हदम्याद राखिन नहुने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा जारी भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले पछि आवश्यक परेको खण्डमा छलफल गरेर हदम्याद राख्न सकिने अवस्था रहेको भएपनि अहिलेको राजनीतिक परिस्थितिमा हदम्याद हटाउन नसकिने बताएका हुन् ।

‘हदम्यादको सम्बन्धमा हामीभित्र व्यापक वहस चलिरहेको अवस्था छ । यो भन्दा पहिला थिएन, ल्याउनुभएको छ । सार्वजनिक पदमा बसेको व्यक्तिले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउँछ भने त्यसमा हदम्याद लाग्दैन । तर, व्यक्तिगत रुपमा भ्रष्टाचार गर्छ, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको छैन भने निश्चित अवधिभित्र अनुसन्धान सक्नुपर्छ भन्ने उद्देश्यको साथ आएको हो भन्ने मैले बुझेको हो ।’ उनले भने, ‘पछाडि अभ्यास गर्दै जाँदा कुनै बेला आवश्यक पर्यो भने त्यो बेलामा छलफल होला । तर, अहिले हामी जुनखालको राजनीतिक अवस्थामा हामीहरु छौं, नेपालको सबैभन्दा राम्रोसँग मिलिजुली गर्ने काम भनेको भ्रष्टाचार हो । एउटाले अर्कोलाई तँ मेरो नहेर, म तेरो हेर्दिन भनेर मिल्ने कुरा भएकाले हदम्याद अहिले राखेर जान हुँदैन ।’

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको मुद्दामा ५ वर्षको हदम्याद राख्नेबारे छलफल भइरहेको छ । अधिकांश सांसदहरुले भ्रष्टाचारको विषयमा हदम्याद राख्न नहुने धारणा राखिरहेका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्