Logo

सरकारलाई प्राथमिकता दिँदैआएको माओवादीको ध्यान अब सदन, सडक र १२२ स्थानीय तहमा



काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सकिएको छ । स्थायी कमिटी बैठकमा संगठन, नेतृत्व, वैचारिक र राजनीतिक कार्यदिशालगायतको विषयमा घनिभूत छलफल भएको बताइएको छ । उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले समसामयिक र राजनीतिक विविध विषयमा घनिभूत छलफलसँग स्थायी कमिटी बैठक सम्पन्न भएको बताए ।

स्थायी कमिटी बैठकमा सबैभन्दा बढी छलफल पार्टी रूपान्तरण र शुद्धीकरणका बारेमा भएको उनले बताए । ‘हाम्रो छलफल सबैभन्दा बढी रूपान्तरण र शुद्धीकरणमा भएको छ । हामी अहिले सर्वसम्मत रुपमा के निश्कर्षमा पुग्यौं भने रूपान्तरणको आधार भनेको विचार हो, राजनीतिक कार्यदिशा हो । त्यसमा ८औं महाधिवेशनले निर्देश गरेको वैचारिक राजनीतिक कार्यदिशा नै हाम्रो लागि मार्ग निर्देशक कार्यदिशा हो,’– उनले भने ।

साथै, क्रमशः विचारको विकास गर्दै जानुपर्छ भन्ने कुरामा पनि छलफल भएको उनले बताए । माओवादीले पहिला भन्ने गरेको सरकार, सदन र सडक भन्ने गरेकोमा अब सदन, सडक र १ सय २२ स्थानीय तहलाई प्रभावकारी बनाउने गरी संश्लेषण गरिएको उनले सुनाए । माओवादीले जितेको १ सय २२ स्थानीय तहलाई मोडेलको रुपमा विकास गरिने उनले बताए ।

साथै, प्रवक्ता सापकोटाले एकै पटक प्रदेश–प्रदेशमा केन्द्रीय समितिका सदस्यहरु, प्रदेश पदाधिकारीहरुको संयुक्त परामर्श बैठक बस्ने निर्णय भएको पनि बताए । उनले बताएअनुसार अध्यक्षलगायत उपमहाचिवसम्म सबै प्रदेशमा जाने, जनताको कुरा सुन्ने, बुझ्ने र जनताको कुरा लिने र आफ्नो कुरा दिने गतिविधिलाई अगाडि बढाइने निर्णय भएको छ ।

त्यस्तै, सबै प्रदेशहरुमा जनवर्गीय संगठन, मोर्चा, आयोगहरुको परामर्श बैठक पनि बस्नेछ । बागमती प्रदेशमा भदौं ५ र ६ गते, विशेष सम्पर्क समन्वय प्रदेशमा ७ र ८ गते, गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १४ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते, तीन वटा केन्द्रीय आयोगमा १८ गते, मधेश प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्चको २९ र ३० गते, जबस र मोर्चाको २७ र २८ गते बैठक बस्ने निर्णय भएको छ । सबै प्रदेशका पदाधिकारी, जबस, मोर्चा र आयोगका कुरा सुनेर व्यवस्थित दस्तावेज तयार पारेर असोजको पहिलो हप्ता केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस्