Logo

एउटा पक्षको कार्यकर्ता बनेर कुलमानले सरकारलाई असहयोग गरेः एमाले नेता बडाल



काठमाडौं, ३२ साउन । नेकपा (एमाले) का नेता केशव बडालले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरुले प्रयोग गरेको विद्युतको पैसा तिर्न हुँदैन भनेर कहिले पनि नभनेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीले विजुलीको वक्यौता तिर्नुपर्दैन भनेर कहिले पनि नभनेको उनले बताए । प्रधानमन्त्री ओलीलगायत सबैले विद्युत खेर गइरहेको बेला उद्योगको लाइन काट्न नहुने धारणा राखेको उनले बताए ।

नेता बडालले विद्युत खेर गइरहेको बेला उद्योगहरुको लाइन काटिनुमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियतमा खोट रहेको उनले बताए । ‘यो मिडियामा कसरी आयो ? उहाँले पैसा तिर्नुपर्दैन भनेको होईन । मुख्य कुरा यो नौ वर्षदेखिको समस्या रहेछ । यो समस्या समयमा विल नजानु गल्ती भयो । उद्योग बन्द गराउने पनि होईन, नतिर्ने पनि होईन । प्रयोग गरेपछि तिर्नुपर्छ । तर, साउनको पहिलो हप्ता लाइन काट्नु गम्भीर त्रुटी हो । यो बेला विद्युत खेर गइरहेको छ । साउनमा लाइन काट्नु भनेको नियतमा खोट देखिएको छ,’– उनले भने ।

साथै, उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशमा घिसिङले कुनै दलको कार्यकर्ता बनेर राज्यलाई असहयोग गर्न खोजेको टिप्पणी गरे । ‘उहाँ (कूलमान) ले सरकारलाई असहयोग गर्नुभयो । हामीले तिरेको कर खाएको मान्छेले राज्यको विरोधमा जाने, कुनै एउटा पक्षमा लाग्ने, कुनै एउटा पक्षको कार्यकर्ता बन्ने कसैलाई छुट छैन,’– उनले भने । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्