काठमाडौं, ३२ साउन । आगामी भदौ महिनाका लागि अधिकांश बाणिज्य बैंकहरुले मुद्दती निक्षेपको व्याजदर घटाएका छन् । भदौ महिनाका लागि औषतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपमा ६.५३ प्रतिशत कायम गरिएको छ । साउन महिनामा औषत मुद्दती निक्षेप व्याजदर ६.७४ प्रतिशत रहेको थियो । साउन महिनाको भन्दा भदौमा ब्याजदर ०.२१ विन्दुले घटेको हो ।
कूल २० वटा बाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाएका छन् । ६ वटा बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एउटा बैंकले भने ब्याजदर बढाएको छ ।
भदौं महिनाका लागि नेपाल बैंकले ५.२५, कृषि विकास बैंकले ६.०६, राष्ट्रिय बाणिज्य बैंकले ६.०७, प्रभु बैंक र एभरेष्ट बैंकले ६.१ ब्याजदर कायम गरेका छन् । त्यसैगरी सानिमा बैंकले ६.२, ग्लोबल आईएमई बैंक र नेपाल एसबीआई बैंकले ६.२५, सिद्धार्थ, सिटिजन्स, लक्ष्मी सनराइज र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ६.५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
त्यस्तै, भदौ महिनाका लागि कुमारी बैंकले ६.७१, हिमालयन, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकको ब्याजदर ७ प्रतिशत, एनएमबी र एनआईसी एशियाको ७.४१ प्रतिशत व्याजदर कायम गरिएको छ ।
त्यस्तै, प्राइम कमर्शियल बैंकको ब्याजदर ६.७५ कायम गरिएको छ । प्राइमले साउनको तुलनामा ०.२५ प्रतिशत व्याजदर बढाएको हो । अघिल्लो महिनाकै व्याजदरलाई निरन्तरता दिने बैंकहरुमा हिमालयन, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड, नबिल बैंक, ग्लोबल आईएमई र लक्ष्मी सनराइज रहेका छन् । File Photo/RN