Logo

दिअर्थी शब्द र चोरीको आरोपपछि छक्का पञ्जा ५ को गीत विवादमा, ज्योतिले सोधिन्: खोइ संस्कारीहरु भुक्दै भुकेनन् त !



काठमाडौं । आगामी दशैंमा प्रदर्शन मिति तोकिएको नेपाली चलचित्र छक्का-पञ्जा ५ को पहिलो गीत नै विवादमा तानिएको छ । छक्का पन्जा ५ को केही दिन अगाडि सार्वजनिक गीत ‘बिहे भाको छैन’ पनि समाज भड्काउने खालको भएको भन्दै विवादतमा तानिएको हो ।

‘बिहे भएको छैन, कुमार/कुमारी नि होइन’ भन्ने शब्द अमर्यादित रहेको भन्दै आलोचना गरिएको हो । साथै सो गीतलाई चोरीको आरोपसमेत लागेको छ । वरिष्ठ संगितकार शम्भु राईको एउटा गीतसँग यो गीतको लय शब्द मिलेको भन्दै आलोचना भइरहेको छ । यसबारेमा निर्माण पक्षले भने कुनै प्रतिक्रिया जनाएको छैन् ।

यो गीतका शब्दहरू चलचित्रका निर्माता दीपकराज गिरी र संगीतकार दीपक शर्माले मिलेर लेखेका हुन् । यसैबीच गायिका ज्योति मगरले यस गीतलाई लिएर आफ्नो प्रतिक्रिया जनाएकी छन् ।

मगरले ‘संस्कारीहरूले यो गीत बुझेनन् कि क्या हो ?’ भन्दै कटाक्ष गरेकी छन् । उनी लेख्छिन्, ‘बिस्तराले पोल्यो’, ‘३ महिने सुई लाउँछे’ जस्ता गीतहरूले समाज भड्किलो भयो भन्दै भुक्नेहरूले ‘छक्का पन्जा ५’को गीत ‘बिहे भाको छैन, कुमारी पनि हैन म’ गीतलाई कुन रूपले लिए होलान् । यो गीतको भाव बुझेनन् कि क्या हो ?’ उनले गीतले बिहे गर्‍या छैन । तर संसर्ग गर्याछु भन्न खोजेको उनको टिप्पणी छ । उनले अगाडि थपेकी छन ‘खोइ सस्कारी हरु भुक्दै भुकेनन त ’ ।



प्रतिक्रिया दिनुहोस्