Logo

सोलुखुम्बु बाढी अपडेट: ३ दर्जन घरमा क्षति, ६ जनाको सकुसल उद्धार, सर्तक रहन प्रशासनको आग्रह



काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं ५ थामे नजिकै भीषण बाढी आउँदा त्यहाँको जनजीवन कष्टकर बनेको छ ।

सदरमुकाम सल्लेरीबाट अन्त्यन्तै टाढा रहेको सो स्थानमा आज दिउँसो एक्कासी भीषण बाढी आएको थियो । सो बाढी हिमताल वा हिमपहिरो फुटेर आएको हुन सक्ने प्रशासनले अनुमान गरेको छ । यद्यपि यसबारेमा थप यकिन नभएको प्रहरीको भनाइ छ ।

यसैबीच करिब ४० घर परिवार रहेको थामे गाउँमा बाढी पसेपछि जनजीवन अत्यन्तै कष्टकर बनेको छ भने नेपाली सेनाले ६ जनाको सकुसल उद्धार गरेको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै ६ जनालाई सकुसल उद्धार गरेको र २० घरजति पूर्णरुपमा क्षति भएको जनाएको छ ।

“थामेगाउँमा करिब १ः४५ बजे हिम पहिरो गएको खबर प्राप्त हुनासाथ नेपाली सेनाको उद्धार टोली परिचालित भई प्रभावित इलाकाबाट ६ जनाको उद्धार कार्य गरेको छ,” सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त पहिरोमा परी १५ देखि २० घर पुरिएको भन्ने बुझिएको ।”

उक्त हिमपहिरोपछि आएको बाढीका कारण दूधकोसी नदीमा ठूलो बाढी आएको छ। दूधकोसी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो ।

खुम्बु पासाङ ल्हामु, माप्य दूधकोसी गाउँपालिका, सोताङ, थुलुङ दूधकोसी र नेचा सल्यान गाउँपालिका लगायतका नदी किनारका क्षेत्रमा क्षति पुग्नसक्ने अनुमान गरिएको छ।



प्रतिक्रिया दिनुहोस्