Logo

सरकारले भ्रष्टाचारीको पक्षपोषण गरेको भन्दै युवाहरुद्वारा वृहत आन्दोलनको उद्घोष, कुलमानको पक्षमा सडकमा उत्रिन अपिल (भिडिओसहित)



काठमाडौं, ३२ साउन । राज्य सत्ताको गलत क्रियाकलापका विरुद्धमा युवा अभियन्ताहरुले बृहत आन्दोलनको घोषणा गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै युवाहरुले राज्य सत्ताको गलत क्रियाकलापको विरुद्धमा भोलि (शनिबार) काठमाडौंमा बृहत आन्दोलन गर्ने बताएका हुन् । देशमा भएको बेथिति, अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्न लागिएको बताइएको छ ।

सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गरेर भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राख्न खोजेको र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई झुठा मुद्दा लगाएर उद्योगहरुलाई २२ अर्ब विद्युत वक्यौता छ्ुट दिन खोजिएको उनीहरुको आरोप छ । प्राधिकरणको २२ अर्ब वक्यौता उद्योगी व्यवसायीहरुले तिर्नुपर्ने र प्राधिकरण डुवाउने चलखेल बन्द हुनुपर्नेसहित उनीहरुले ९ बुँदे माग सार्वजनिक गरेका छन् ।

कार्यक्रमका वक्ता रवि किरणले देशमा बेथिति र भ्रष्टाचार बढिरहेकाले त्यसको लागि सशक्त आन्दोलन गर्न लागिएको बताए । सरकारले राज्यका निकायहरुलाई निकम्मा बनाउने र सुशासनको पक्षमा उभिएका मानिसहरुलाई प्रताडित गराउने काम गरेको उनको भनाइ छ ।

अर्का वक्ता विजय कँडेलले वर्तमान सरकारको काम कारबाहीप्रति कसैलाई पनि चित्त नबुझेको बताए । उनले देशमा चरम भ्रष्टाचार रहेको र भ्रष्टाचारको अन्त्य आफूहरुको मूल एजेण्डा रहेको बताए ।

‘यो सरकारप्रति कसैलाई पनि हाम्रो चित्त बुझेको छैन । त्यसैकारणले हामी मैदानमा उत्रिएका छौं । देशमा चरम भ्रष्टाचार भयो । हाम्रो मुख्यत भ्रष्टाचारविरुद्धको आन्दोलन हो,’– उनले भने ।

त्यसैगरी, समाजसेवी विमल पन्तले देशमा सरकार भएको आभास नै नभएको बताए । सरकारले लघुवित्त, मिटरब्याज र सहकारी पीडितहरुलाई न्याय दिनै नचाहेको उनको भनाइ छ । उनले युवाले देशमा काम गरेर खाने वातावरण निर्माण गर्न वारपारको आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।

अर्का वक्ता अजय श्रेष्ठले नेपालमा राम्रो काम गर्ने मान्छेलाई पटक–पटक पछार्ने काम भएको बताए । केही मानिसहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई गलत मुद्दा लगाएर निकाल्न खोजेको भन्दै त्यसको विरुद्धमा आम युवाहरु सशक्त रुपमा सडकमा उत्रिने बताए । ‘राम्रो काम गर्ने मान्छेलाई पटक–पटक पछारिएको छ । सत्ताधारीहरुले यो देश चलाएर यथास्थितिमा राख्ने चाल देखिएको छ । एकजुट भएर यो आन्दोलनलाई अगाडि बढाउनुको विकल्प छैन ।’ उनले भने, ‘कुलमान घिमिङविरुद्ध केही मान्छेले भ्रष्टाचार गरेको भनी आरोप लगाएर राज्यले निकाल्न खोजिरहेको छ । हामीजस्ता मान्छेहरुले आन्दोलन गरेर त्यस्ता मान्छेहरुलाई बचाउन आवश्यक छ ।’

त्यसैगरी, अभियन्ता डा. निकोलश भुसालले सत्तामा रहेकाहरुले विदेशीको नुन खाएर यो देशको सुन र युवाहरुको खुन बेचिरहेको टिप्पणी गरे । उनले अब युवाहरुले आन्दोलन गरेर देश बचाउने र बनाउने उद्घोष गरे ।

कार्यक्रममा मुकेशबाबु देवकोटा, समिरा पोखरेल, विजय खड्गी, नगेन्द्र देउजा, दिनेश खनाल, देशभक्त युवा नेपालका संस्थापक अध्यक्ष अर्जुन पौडेल, शिव यादव, सोम शर्मालगायतले भ्रष्टाचारको विरुद्धमा आफना अभिव्यक्तिहरु दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्