Logo

प्रचण्डलाई अगाडि राखेर जनार्दनले नेता/कार्यकर्तालाई सोधे, ‘तपाईँहरुले मलाईँ दलालजस्तो देख्नुहुन्छ ?’



काठमाडौं, १ भदौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले मनोगत ढंगले आरोप लगाएर आफूमाथि हमला भइरहेको बताएका छन् । आज (शनिबार) रुकुम–पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘पार्टी फुटाउँदै छ’ भनेर पार्टीको उच्च तह र नेतृत्वबाट नै देशभर बदनाम गराइएको बताएका हु्न् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सहभागी रहेको उक्त कार्यक्रममा उनले नेता तथा कार्यकर्तालाई ‘तपाईँहरुले मलाई दलालजस्तो देख्नुहुन्छ ?, यो पार्टी फोर्नेजस्तो देख्नुहुन्छ ?’ भन्दै प्रश्न गरे ।

‘संगठनात्मक रुपले केही न केही सिर्जना गर्ने कुरामा रूकुमले योगदान गरेकै हो । हजारौं कमाण्डरहरुलाई तयार गरेर युद्ध मोर्चामा गएकै हो । जनयुद्धपछि संविधान निर्माणमा खेल्नुपर्ने भूमिका खेलेकै हो । पाँच–पाँच जना थियौं हामी संविधान निर्माणको बेलामा । तर, आज बडो आश्चर्यमा छु म । तपाईँहरुलाई मेरो अनुहार कस्तो लाग्छ कुन्नी ? तपाईँहरुले मलाई दलालजस्तो देख्नुहुन्छ ? भन्नुस्– म दलालजस्तो छु ? म यो पार्टी फोर्न जस्तो देख्नुहुन्छ तपाईँहरुले ? तर, त्यो आरोप आज मैले खेपिरहेको छ । पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर मेरो बदनाम गरिएको छ,’– उनले भने ।

पार्टीभित्र संघर्ष र पश्न गर्नुपर्ने आवश्यक्ता ठानेर नै आफूले प्रश्न गरेको उनले बताए । उपमहासचिव शर्माले आफूले गरेको प्रश्नभित्र कुनै षड्यन्त्र, दु्राग्रह र नेतृत्वप्रतिको अपमानको कुनै गुञ्जायस नै नरहेको बताए । उनले आफूले राखेको प्रश्नमा पार्टी बनाउने, निर्माण गर्ने र रूपान्तरण गर्ने हुटहुटी रहेको बताए ।

उपमहासचिव शर्माले आफूले प्रचण्डलाई नेतृत्वबाट विस्थापित गर्ने नभएर अरु २ सय वर्ष बचाउने कुरा गरेको बताए । अरु २ सय वर्षसम्म प्रचण्डको विचारले नेतृत्व गरोस् भन्ने आफ्नो प्रस्तावमा आफूमाथि अनेक आरोप लगाइएको उनले बताए । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्