Logo

थामे क्षेत्रको अवलोकन गरेर फर्किएको रक्षामन्त्रीसहितको टोलीले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने



काठमाडौं, २ भदौ । सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु पासाङल्हामू गाउँपालिका–५को थामे खोलामा आएको बाढी अवलोकन गरी फर्किएको टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउने भएको छ । हिजो (शनिबार) रक्षामन्त्री मानवीर राईसहितको टोलीले थामे क्षेत्रको अवलोकन गरेको थियो । गत शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीले १३ घरमा पूर्ण क्षति पुगेको छ भने थामे बजार पूरै अस्तव्यवस्त बनाएको छ ।

रक्षामन्त्री राईले थामे खोलाको शीरमा रहेको दुई वटा ताल फुटेर बाढी आएको पाइएको बताए । ‘प्रधानमन्त्रीज्यूको निर्देशनमा म हिजो थामे क्षेत्रमा पुगेँ । थामे गाउँमा पुगेर त्यहाँका जनताहरुसँग भेटघाट गरेर मौसम प्रतिकूलताको बीचमा पनि थामे खोलाको शीरमा गएर हेर्दा त्यहाँ दुईवटा ताल रहेछ । त्यो ताल फुटेर आएको रहेछ । त्यसले थामे गाउँमा विध्वङ्श गर्यो । थामे गाउँमा १३ वटा घरहरु पूरा ध्वस्त गर्यो । १०÷१२ वटा घरहरु आंशिक ध्वस्त भएको छ,’– नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

साथै, त्यहाँको विद्युत पनि अहिले अवरुद्ध रहेको उनले बताए । बाढीले एउटा आधारभूत विद्यालय र क्लिनिकमा पनि क्षति पुर्याएको पाइएको मन्त्री राईले बताए । स्थलगत भ्रमणको रिपोर्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बुझाउने तयारी रहेको उनले बताए ।

आफूहरुको उपस्थितिमै गाउँपालीकाले ५० हजार र जिल्ला प्रशासन कार्यालयले १५ हजारका दरले पूर्ण रुपमा क्षती भएका १३ घर परिवारलाई राहत उपलब्ध गराइएको मन्त्री राइले बताए । बाँकी राहत र पुनर्निर्माणबारे प्रधानमन्त्रीलाई रिपोर्ट बुझाइसकेपछि निर्णय हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्