Logo

छानविन समितिलाई रास्वपा सहमहामन्त्री आचार्यको जवाफः ‘खातामा पैसा आएको मलाई थाहा छैन’



काठमाडौं, ३ भदौ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले समितिले अहिलेसम्म ४० जनाभन्दा बढीसँग सोधपुछ गरेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेसम्म ४० जनासँग सोधपुछ गरिएको र अब सोधपुछको काम अन्तिम–अन्तिम चरणमा पुगेको बताएका हुन् । अब केही मानिसहरुलाई सोधपुछ गर्न बाँकी रहेको उनले बताए ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्यसँग पनि हिजो सोधपुछ गरेको सभापति थापाले बताए । उनले आफूहरुले व्यक्ति कुन पार्टीमा छ र कुन पदमा छ भनेर मतलव नराखी काम गरिरहेको बताए । आचार्यले सहकारीको पैसाको बारेमा आफूलाई केही थाहा नरहेको जवाफ दिएको पनि सभापति थापाले सुनाए । सभापति थापाका अनुसार आचार्यले मिडियामा समाचार आएपछि मात्रै पैसा आफ्नो नाममा आएको भन्ने थाहा पाएको जवाफ समितिलाई दिएका थिए ।

‘उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको कुन पदमा हुनुहुन्छ ? म त्यो जान्दिनँ । उहाँ सोधपुछबाट फर्किसक्दा पनि कुन पदमा हो ? त्यो जानकारी थिएन । उहाँको नाममा र उहाँको कम्पनीको नाममा विभिन्न सहरकारीबाट प्रवाह भएको रकमको बारेमा हामीले सोधपुछ गरेका हौं । सहकारीको पैसाको बारेमा मलाई थाहा छैन । मैले मिडियामा आइसकेपछि मात्रै सहकारीको पैसा मेरोमा आएको भनेर भन्ने सुनेको हुँ । त्यसबारेमा एकीन छैन । म कुनै सहकारीको सदस्य छैन भन्ने उहाँको दाबी थियो,’– सभापति थापाले भने ।

सभापति थापाका अनुसार रास्वपा सहमहामन्त्री आचार्यको खातामा सहकारीबाट सिधै पैसा प्रवाह नभएर विभिन्न लेयर हुँदै पैसा त्यहाँ पुगेको देखिएको छ । आचार्यले पोखराको सूर्यदर्शन र रुपन्देहीको सुप्रिम सहकारीबाट ऋण लिएको ती कम्पनीहरुको वार्षिक अडिट रिपोर्टमा देखिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्