Logo

साना तथा मध्यम भोजनालय सुधारका लागि काठमाडौं महानगरको क्षमता विकास तालिम



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य व्यवसायसँग सम्बन्धित सेवालाई प्रमाणीकरण तथा स्तरीकरण गर्न व्यवसायीहरुको क्षमता विकासको काम सुरु गरेको छ । महानगरपालिकाले ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छताः प्रवर्धन शिविर (फुड सेफ्टी वुट क्याम्प) कार्यक्रमअन्तर्गत यस वर्ष खाद्य सेवामा क्षेत्रगत व्यावसायी तथा व्यक्तिहरुलाई सेवाको प्रकृतिका आधारमा वर्गीकरण गरेर समूहगत तालिम दिइनेछ ।

यसको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालय सञ्चालक, व्यवस्थापक तथा भान्छामा काम गर्ने कर्मचारीका लागि आजदेखि २ दिने क्षमता विकास तालिम सुरु भएको छ । स्वच्छ खानाः उत्कृष्ट व्यापार (सेफर फुडः वेटर विजनेस) सोच राखेर थालिएको तालिम दरबार हाइ स्कूलमा भोलिसम्म चल्नेछ । तालिममा करिब ३ सय जना व्यवसायीहरु सहभागी हुने बताइएको छ । यो समूहबाट ४ सय जनालाई तालिम दिने लक्ष्य छ ।

तालिममा ६ वटा कक्षा चल्नेछन् । यसमा खाद्य स्वच्छता र सरसफाइ, स्थान र संरचनाको न्युनतम सुविधा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, खाद्य भण्डारण (काँचो, पाकेको), उचित प्रयोग नहुँदा खाद्य पदार्थबाट हुने जोखिम, हाइजिन रेटिङ्, सरसफाइ स्तरीकरण र प्रमाणीकरण, प्रचलित कानुनी व्यवस्था (मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिवाना) क्षमता विकासका विषय हुन् ।

यी कक्षाहरुमा सरसफाइ र स्वच्छतासँगै शत्रु जीवबाट खाना र खाना बनाउने ठाउँको सुरक्षा, कार्यमैत्री वातावरण, फुड फ्लो (प्राप्त गर्ने, भण्डारण गर्ने, पकाउने र सर्भ गर्ने) को अवस्था, कच्चा पदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डका बारेमा जानकारी दिइनेछ । यस्तै तापक्रम, साधन तथा उपकरणको प्रयोग र व्यवस्थापन, पेशाकर्मीको व्यक्तिगत सरसफाइलगायत विषयमा कक्षा सञ्चालन हुनेछन् ।

व्यवसायीहरुमा खाद्य सेवा मापदण्डका बारेमा जानकारी भयो भने उत्तरदायित्व बोध गराउन सकिन्छ भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको बताइएको छ । नियमन गर्नु अघि प्रचलित व्यवस्थाका बारेमा जानकारी दिनु र मापदण्ड बुझाउन आवश्यक भएकोले तालिम थालिएको हो ।



प्रतिक्रिया दिनुहोस्