Logo

शेरबहादुर देउवालाई कांग्रेसका अरु कुनै नेताले हल्लाउन सक्दैनन्ः उमेश श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हुनबाट कसैले पनि रोक्न नसक्ने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केन्द्रीय समिति र संसदीय दलमा देउवाकै बहुमत रहेकाले केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्न उनलाई कसैले रोक्न नसक्ने बताएका हुन् । देउवाको चिन्तन सदैव पार्टी राम्रो होस् भन्ने रहेको बताउँदै उनले आगामी १५औं महाधिवेशनपछि उनी संरक्षक भएर बस्नुपर्ने बताए ।

‘तपाईँले देख्नुभएको छ, कांग्रेसभित्र कस्तो अवस्था छ ? शेरबहादुर देउवा भएनभने के हुन्छ ? अहिलेको अवस्था स्थितिमा पनि त्यहाँभित्र कति अप्ठ्यारो छ ? तै पनि मिलाए लानुभएको छ । अहिले उहाँको चिन्तन भनेको नेपाली कांग्रेस अझै राम्रो होस्, मैले नेतृत्व छोडेको अवस्थामा पनि राम्रो भएर जाओस् भन्ने उहाँको चिन्तन र सोँच छ ।’ उनले भने, ‘अब दुई पटक भइसकेपछि पार्टी सभापति उहाँ हुनुहुन्न । अहिले कांग्रेसभित्र बहुमत उहाँकै छ, जसले हल्लाउन खोजेपनि सक्दैन । केन्द्रीय समितिमा उहाँको बहुमत छ, संसदीय समितिमा पनि उहाँ बहुमत भएको व्यक्ति हुँदाखेरी कसैले हल्लाउन सक्दैन । अरु साथीहरुको मानसिकता पनि चेन्ज भएको छ । प्रधानमन्त्री बनाउन अर्को विकल्प नै छैन ।’

नेता श्रेष्ठले एमाले र कांग्रेसबीच भएको ७ बुँदे सहमति पूर्ण रुपमा पालना हुने विश्वास व्यक्त गरे । उनले देउवाले कसैलाई कहिले पनि धोका नदिएको बताउँदै उनले एमालेले पनि यस पटक कांग्रेसलाई धोका नदिने बताए । नेपालको राजनीति स्थायित्वतिर अगाडि बढेको उनको दाबी छ । कांग्रेस–एमाले नेतृत्वको सरकारको पालामा देश समृद्धिको यात्रामा अगाडि जाने बताए ।

साथै, ओलीपछि देउवाले डा. आरजु राणा देउवालाई प्रधानमन्त्री बाउने भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताए । आफूलाई डा. राणा प्रधानमन्त्री बन्ने भन्नेमा कुनै विश्वास नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्