Logo

प्रचण्ड-बाबुरामको झगडाले संविधानमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति राख्न सकिएनः गगन थापा



काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्कालीन अवस्थामा नेकपा (माओवादी) का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा.बाबुराम भट्टराईका झगडाको कारण प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्न नसकिएको बताएका छन् । आज (मंगलबार) रुपन्देहीमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलो संविधान सभामा अहिलेको भन्दा कम्तिमा पाँच गुणा बढी अधिकार भएको ११ वटा प्रदेश, तीन सय वटा स्थानीय तह, संसद्ले निर्वाचित गर्ने प्रधानमन्त्री र आम जनताले मतदान गरेर निर्वाचित गर्ने राष्ट्रपतिको व्यवस्था गरी संविधानको ड्राफ्ट तयार भएपनि प्रचण्ड–बाबुरामको कारण त्यो सम्भव नभएको बताएका हुन् । नेता थापाले प्रचण्ड–बाबुरामको झगडाकै कारण पहिलो संविधान सभा भंग भएर दोस्रो संविधान सभाले विशिष्ट परिस्थितिमा संविधान जारी गरेको बताए ।

‘यदि प्रचण्ड र बाबुरामले झगडा नगर्नुभएको भए र पहिलो संविधान सभा भंग नभएको भए त्यो दिन कस्तो संविधान बन्दै थियो भने, त्यो दिन मलाइ अहिले पनि याद छ, नेपालमा सात वटा होईन, ११ वटा प्रदेश रहन्थ्यो । नेपालमा जम्म ३ सय वटामात्रै स्थानीय तह रहन्थ्यो । अहिले भएको भन्दा कम्तिमा पनि पाँच गुणा बढी अधिकार भएको प्रदेश बन्दैथियो । नेपालमा अहिलेको जस्तो संसदीय व्यवस्था होईन, फ्रान्सको जस्तो, संसद्ले निर्वाचित गरेको प्रधानमन्त्री र आम जनताले भोट दिएर प्रत्यक्ष निर्वाचित भएको राष्ट्रपतीय प्रणाली हाम्रोबीचमा टुङ्गिएको थियो । कांग्रेसले त्यो कुरा मानेको थियो,’– उनले भने ।

साथै, अहिले कांग्रेस–एमालेसहितको गठबन्धन सरकारले संविधान संशोधनको कुरा उठाइरहेको स्मरण गराउँदै उनले संविधानको बेसिक स्टक्चरमा कुनै तलमाथि नहुने विश्वास दिलाए । उनले बेला–बेलामा अहिले माओवादीको नेताहरुले संविधान संशोधनमार्फत एमाले–कांग्रेस प्रश्चगमनतर्फ जान खोजे भन्ने भ्रम सिर्जना गर्ने काम गरिरहेको बताए । संविधानले दलित, महिलालगायतलाई दिएको अधिकार कांग्रेस अझै पनि थप्न तयार रहेको उनले बताए । अहिले महिला, दलितलगायतलाई दिएको अधिकारमा कुनै तलमाथि नहुने उनको भनाइ छ । संविधान संशोधनीय दस्तावेज रहेको स्मरण गराउँदै उनले त्यसमा लेखिएको कुरा एउटा पनि तलमाथि गर्न सकिँदैन भन्नु गलत हुने बताए ।

‘माओवादीका साथीहरु हेर्नुस् त पूर्व प्रधानमन्त्री बनिसकेका व्यक्तिले पनि बेला–बेलामा संसद्कै भवनबाट मानिसलाई भ्रमित पारिरहेका छन् । कांग्रेस–एमाले मिलेर दलितको अधिकार खोस्ने ? महिलाको अधिकार खोस्ने ? भन्दिनुभएको छ । कतिलाई हो कि जस्तो परेको छ । त्यसले गर्दा हामीलाई बहसमा अल्मलाएको छ । स्पष्टसँग कांग्रेसका साथीहरुले भन्न सक्नुपर्छ– संविधानले दिएको अधिकार कांग्रेसले थप्छ । सके थप्छ तर एक ठाउँ पनि घटाउँदैन । अहिलेको व्यवस्था ठीक ढंगले चलिरहेको छैन, हामी यसलाई सुधार्न चाहन्छौं, परिमार्जन गर्न चाहन्छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्