Logo

अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गरिने कृषिमन्त्री अधिकारीको चेतावनी



काठमाडौँ, ४ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गर्ने बताएका छन् । आज (मंगलबार) मन्त्रालयमासञ्चारकर्मीसँग संवाद गर्दै उनले कृषि मन्त्रालयले पछिल्लो पाँच÷सात वर्षमा अर्बौ रुपैयाँ अनुदान दिएको बताए । ‘सबै विवरण सार्वजनिक गर्नुपर्छ भनिसकेको छु । केही दिनमा यो पनि सार्वजनिक हुन्छ,”– उनले भने ।

आफूले मन्त्रालय सम्हाल्दा कर्मचारी आन्दोलनदेखिका यावत समस्या रहेको चर्चा गर्दै उनले दुग्ध किसानको वक्यौतादेखि उखु किसानको पैसा दिने गरी काम गरिरहेको बताए ।

मन्त्री अधिकारीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि २५ करोड दूग्ध किसानको हातमा गइसकेको बताए । उनले डेढ अर्ब रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको बताए । “बाँकी रकम पनि निकासका लागि प्रयास भइरहेको छ । उखु किसानलाई गत वर्षको भुक्तानी दिन नसक्ने हो भने दसैँको बेलामा जुलुस निस्कँदैछ । त्यो पनि जानकारी छ । रकम निकासका लागि प्रयास गरिरहेको छु,”– उनले भने ।

मन्त्री अधिकारीले कृषि मन्त्रालय र असली किसानको बीचमा ठूलो खाडल रहेको र त्यसलाई कसरी पुर्ने भनेर आफू लागि परेको बताए ।

फरक प्रसङ्गमा उनले राजनीतिक दलप्रति जनताको वितृष्णा रहेको स्वीकार्दै नेपाली कांग्रेस र नेकपा (एमाले) को वर्तमान गठबन्धनले जनतामा उत्साह जगाउने गरी काम गर्नुपर्ने र गर्ने बताए । “राज्यप्रति जनताको भरोसा टुटेको छ, त्यसमा उत्साह जगाउन सबैले भूमिका खेल्नुपर्ने छ”, उनले भने, “जिम्मेवारीबाट भाग्न सकिने अवस्था छैन । भागिदैन ।”



प्रतिक्रिया दिनुहोस्