Logo

हाँस्यकलाकार सिम्खडाको गाइजात्रे प्रस्तुतिः ‘गणतन्त्र गन्हाउँदैछ, भाउजुतन्त्र भयो अति’



काठमाडौं, ५ भदौ । हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले आफूहरुले गाईजात्राको क्रममा भनेको भन्दा चर्का गरी अरु बेला नेता–नेताबीच भनाभन हुँदा दर्शक तथा स्रोताहरुले कन्टेन कमजोर भएको महसुश गरेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले पहिला सात दिनको समयमा मात्रै नेताहरुमाथि हाँस्यव्यङ्ग्य गर्न पाइने भएपनि अहिले दिनै नेताहरु आफैंले हाँस्यव्यङ्ग्य गरिरहेको बताएका हुन् ।

आफूले यस पटकको गाईजात्रामा कोट र पेटीकोटको संवादलाई समावेश गरेको जानकारी गराउँदै उनले आफ्नो हाँस्यव्यङ्ग्य यसरी सुनाएः

व्यवस्था विग्रदै जाँदा कमाउने मात्र नोट हो ।
कोटधारीहरुलाई घुमाउने पेटीकोट हो ।
छोरीतन्त्र चल्यो पहिला प्रजातन्त्र गयो शती,
गणतन्त्र गन्हाउँदैछ, भाउजुतन्त्र भयो अति ।

हाँस्यव्यङ्ग्यमा प्रयोग भएको सिम्बोलिक नामहरुबारे पनि उनले टिप्पणी गरे । हाल भारत भ्रमणमा रहकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई शक्तिशालीको संज्ञा दिँदै उनले भने, ‘भाउजुतन्त्र भनेको सिम्बोलिक राजनीतिक नामहरु छन्, जस्तै बा बोल्नुभयो भनेपछि बुझिन्छ होईन ? केपी शर्मा ओली बुझिन्छ । भाउजु भनेपछि परराष्ट्रमन्त्रीज्यू । हाम्रो प्रधानमन्त्री जाँदा भेट्न नपाउने, अहिले परराष्ट्रमन्त्री जाँदा भेट्न पाउने भनेपछि भाउजु कति शक्तिशाली ? हामीले भनेको यही हो ।’

साथै, उनले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि पनि तिखो व्यङ्ग्य वाण प्रहार गरेका छन् । प्रचण्डले माओको घुम्टो ओढेर मोदीको जन्ती गएको उनको टिप्पणी छ । उनले स्वपर्गीय नेता मदन भण्डारीले माक्र्सवाद र लेलिनवादमो जनताको बहुदलीय जनवाद लेखेको स्मरण गराउँदै प्रचण्डले नातावाद प्रमाणित गरेको टिप्पणी गरे । ‘सिद्धान्त कसको कार्यशैली कसको ? यसलाई भनिन्छ, क्रान्तिभित्रको भ्रान्ति । माओको घुम्टो ओढेर मोदीको जन्ती । पहिला मदन भण्डारीले माक्र्सवाद, लेलिनवादभित्र जनताको बहुदलीय जनवाद लेखाइदिनुभयो । कमरेड प्रचण्डले माओवादभित्र नातावाद प्रमाणित गरेर देखाइदिनुभयो,’– उनले भने ।

एउटै शताव्दीको दुई महान नेता चीनको माओ भारतको नेहरु
माओ साम्यवादको हिमायती पढाइ खेतीपाती,
नेहरु प्रजातन्त्रको हिामायती पढाइ बेलायती ।
माओ जहाँ जान्थे, विशेषज्ञ हुन्थे वरिपरी,
नेहरु जहाँ जान्थे सँगै लान्थे छोरी ।
त्यसको सिको नेपालमा गिरिजाले पनि गर्नुभो,
गिरिजा र नेहरुभन्दा चर्को कमरेड प्रचण्ड पर्नुभो ।



प्रतिक्रिया दिनुहोस्