Logo

सहकारी ठगी प्रकरणः रवि र छविसँग बयानपछि प्रतिवेदन तयार गरिने



काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिका सदस्य लेखनाथ दाहाल (राजन) ले सूर्यदर्शन, सुप्रिम र सहारा सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ती सहकारीको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेसँग बयान लिनुपर्ने स्थिति सिर्जना भएको बताएका हुन् ।

नेता दाहालले रास्वपाका सभापति लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीसँग बयान लिएपछि प्रतिवेदन लेखन प्रक्रिया सुरु हुने बताए । केही समयअघि जोशीको काठमाडौंस्थित शंखमुलमा रहेको घरमा प्रहरीले छापा मारेको थियो । सो क्रममा प्रहरीले सूर्य दर्शन सहकारीको मुख्य सर्भरको सफ्टवेयर बरामद गरेको थियो । जोशी र सूर्यदर्शनका संस्थापक अध्यक्ष जिबी राई व्यवसायिक साझेदार हुन् ।

सूर्यदर्शन, सुप्रिम र सहारासँग रवि लामिछानेको कहीँ न कहीँ संलग्नता देखिन्छ । तैपनि त्यसको प्रमाणित गर्ने कुरामा हामीले निश्पक्ष ढंगले त्यसको आर्थिक गतिविधि, उहाँको आर्थिक भूमिका के हुन्छ ? अपचलनमा सहभागिता कति छ ? भन्ने विषयमा प्रतिवेदनले पुष्टि गर्छ । सबैसँग बयान नलिइकन उहाँसँग लिने कुरा पनि भएन । अब छविलाल जोशी र रवि लामिछाने, उहाँहरु दुई जना र केही सरकारी निकायका पदाधिकारीसँग सोधपुछ पछि प्रतिवेदन लेखन प्रक्रिया सुरु हुन्छ । सामान्यतः ड्राफ्ट तयार गरिसकिएको छ ।’ नेता दाहालले भने, ‘उहाँहरुलाई बोलाएर पीडकहरुको पनि मत सुनौं । पीडितहरुको पनि मत सुन्यौं हामीले । सम्बन्धित निकाय र विभिन्न आयोगहरुसँग बसियो । जेलमा रहेका २० जना जतिलाई पनि हामीले ल्याएर बयान लियौं । हामीले विदेशमा बसेकालाई पनि आउने आह्वान गरेका छौं । उहाँसँग पनि हामीले सोधपुछ गर्नुपर्ने परिस्थिति चाहीँ सिर्जना भएको छ ।’



प्रतिक्रिया दिनुहोस्