Logo

पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिसँग माओवादी सहमत छः राजन दाहाल



काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले संविधान संशोधन आजको आवश्यक्ता रहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि संविधान संशोधन गर्न माओवादी सहमत रहेको बताएका हुन् । नेपालजस्तो अल्पविकसित देशमा मिश्रित निर्वाचन प्रणाली भड्किलो र खर्चिलो भएको उनको टिप्पणी छ ।

नेता दाहालले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न सकेको खण्डमा त्यसले राजनीतिक स्थिरता, विकास र समृद्धिको नेतृत्व गर्ने बताए । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुँदा संविधानको रक्षा र सफल कार्यान्वयनको लागिसमेत मद्धत गर्नेबताए ।

‘संविधान संशोधन आजको आवश्यक्ता नै हो । हामीले यो संविधान जारी गर्ने बेलामा पनि शान्ति, स्थिरता र विकासको निमित्त चाहीँ प्रत्यक्ष कार्यकारी राष्ट्रपति चाहिन्छ, पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ । नेपालजस्तो अल्पविकसित देशमा मिश्रित निर्वाचन प्रणाली भड्किलो छ, खर्चिलो छ, बोझिलो छ । यसलाई पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भनेदेखि सबै मितव्यायी हुन्छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिसँग चाहीँ हामी सहमत छौं,’– उनले भने ।

एमाले–कांग्रेसले समानुपातिक समावेशी हटाउने, संघीयता खारेज गर्ने स्थानीय तह घटाउने र एकात्मक र केन्द्रीय शासन व्यवस्थातर्फ फर्किन खोजेको उनको आरोप छ । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, संविधानको रक्षा र सफल कार्यान्वयन गर्ने प्रक्रियामा संविधान संशोधन गर्न माओवादी जुनसुकै बेला तयार रहेको बताए । माओवादी केन्द्र प्रतिगामी संविधान संशोधनको पक्षमा भने उभिन नसक्ने उनको प्रष्टोक्ति छ ।



प्रतिक्रिया दिनुहोस्