Logo

अर्थमन्त्री पौडेलविरुद्ध उजुरी दर्ता गराउँदै अख्तियारलाई सफलको प्रश्नः चोरेको समान फिर्ता गर्नेलाई इमानदार चोर भन्दै छानविन नगर्ने ?



काठमाडौं, ६ भदौ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ । अर्थमन्त्री पौडेलले बुटवलको देवीनगर र काठमाडौंको बालुवाटारमा किनेको जग्गाबारे उचित छानविन गर्न माग गर्दै युवराज सफलले अख्तियारमा उजुरी दर्ता गराएको हुन् । आज दर्ता भएको उक्त उजुरीको दर्ता नं. सी–०११२२८ रहेको छ ।

मन्त्री पौडेलविरुद्ध उजुरी दर्ता गराएका सफलले अख्तियारलाई नै प्रश्न गरेका छन् । मन्त्री पौडेललाई अख्तियारले इमानदार चोर भन्दै उन्मुक्ति दिएको उनको जिकिर छ । ‘बालुवाटार ललिता निवासको सरकारी जग्गा विष्णुप्रसाद पौडेलका छोरा नविन पौडेलले किनेकोमा सो उपर मुद्दा परी अन्य जग्गा किन्नेलाई मुद्दा चलाइएको, निज विष्णुप्रसाद पौडेलका छोरा नविन पौडेललाई भने जग्गा फिर्ता गर्ने शर्तमा मुद्दा नचलाइ उन्मुक्ति दिने भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय गरेको देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने, कुनै चोरले चोरेको समान फिर्ता दियो भने इमानदार चोर भन्दै उसलाई कुनै छानविन गरिन्न वा मुद्दा नचलाई उन्मुक्ति दिइन्छ भने के त्यो न्याय संगत हुन्छ ?’ उनले अख्तियारलाई प्रश्न गरेका छन् ।

पौडेल मन्त्री बन्न उच्च नैतिकता समेत नभएको व्यक्ति रहेको दाबी गर्दै उनले उनलाई तत्काल पक्राउ गरी बुटवलको देवीनगर र काठमाडौंको बालुवाटारमा किनेको सरकारी जग्गाबारे छानविन गर्न माग गरेका छन् ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल विरुद्धको उजुरीको विस्तृत विवरणः

सुकुम्बासी नेताको छवि बनाएका नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको जन्म वि.स. २०१६ सालमा भएको देखिन्छ । उनले वि.स. २०३५ सालदेखि तत्कालीन नेकपा मालेबाट राजनीतिक जीवन शुरु गरेका हुन् । माले हँुदै एमाले र नेकपा र फेरि एमालेमा आबद्ध छन् । वि.स. २०४७ सालदेखि विष्णुप्रसाद पौडेल नेकपा एमालेका केन्द्रीय सदस्यमा चयन भएका हुन् । त्यस्तै २०५९ सालमा एमाले स्थायी समिति सदस्य ,२०६५ सालमा भएको पार्टी महाधिवेशनबाट पार्टी सचिव ,साथै पार्टीको नवौँ महाधिवेशनबाट उप महासचिवमा निर्वाचित भएको ,नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकता हँुदा पार्टी महासचिव समेत भएका व्यक्ति हुन् । साथै उनी दुई बर्ष अघि भएको एमाले महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका व्यक्ति हुन् । वि.सं २०५१ सालमा भएको संसदीय निर्वाचनमा उनी पाल्पाबाट सांसदमा निर्वाचन भएका ,त्यस्तै २०६४ सालको संविधान सभाको निर्वाचनमा रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित भएका , त्यस्तै दोस्रो संविधान सभा निर्वाचन २०७० मा रुपन्देही निर्वाचन क्षेत्र नं. ४ बाट नै निर्वाचित भएको देखिन्छ । त्यस्तै २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र न.ं २ बाट निर्वाचित भएको देखिन्छ । यसका साथै मिति २०७९ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा रुपन्देही २ बाट नै निर्वाचित भएको देखिन्छ ।

विष्णुप्रसाद पौडेल पहिलो पटक ०५३ सालमा लोकेन्द्र बहादुर चन्द सरकारको युवा तथा खेलकुद मन्त्री बन्न पुगेका थिए ।त्यस्तै २०६५ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जलस्रोत मन्त्रालयको मन्त्री ,फेरि २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षा मन्त्रालयको मन्त्री ,२०७२ सालको केपि शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री ,२०७७ सालमा अर्थ मन्त्रालयको मन्त्री ,२०७८ जेठमा तेस्रो पटक अर्थ मन्त्रालयको मन्त्री ,चौथौँपटक ०७९ पुसमा अर्थ मन्त्रालयको मन्त्री र पाँचौँपटक २०८१ सालमा समेत अर्थमन्त्री भएका छन् । वर्तमान नेकपा एमालेका उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि विभिन्न आरोपहरु जनस्तरमा लागेका छन् । निजको सम्पत्ति एवम् आर्थिक हैसियत ,ललिता निवासको सरकारी जग्गा खरिद प्रकरण र नक्कली सुकुम्बासी बनी रुपन्देहीको देवीनगरमा सार्वजनिक जग्गा हत्याएको विषय अहिलेसम्म पनि विवाद र चर्चामै रहेको देखिन्छ । वर्तमान सरकारका पहिलो विवादास्पद मन्त्री भनेर उनको सामाजिक संजाल र आम संचारमाध्यमहरुमा समेत चर्चा हुने गरेको छ । विष्णु प्रसाद पौडेलको सम्पत्तिको कुरा गर्दा ललितपुर जिल्लाको भैसेपाटी आवास क्षेत्रमा छोरा नविन पौडेलको नाममा ९ आना १पैसा २ दाम क्षेत्रफल जग्गा रहेको र सोही जग्गामा निज पौडेल बस्दै आएका छन् । त्यस्तै निजका छोरा नविन पौडेलले कामपा वडा नं. ४ बालुवाटारमा रहेको ललिता निवासको दुई कित्ता गरी जम्मा ८ आना सरकारी जग्गा किनेको देखिन्छ । (भलै पछि बालुवाटारको सरकारी जग्गा मुद्धा अनुसन्धान अघि बढेपछि नेपाल सरकारको नाममा फिर्ता गर्ने निर्णय भएको भनिएको छ) ,त्यस्तै रुपन्देही जिल्लाको रामपुर र भुताहामा आफ्नो नाममा जग्गा जमिन हँुदा हँुदै बुटवलको सुकुम्बासी बस्ती देवी नगरमा बसाई सरी गएको र त्यही पौडेलका छोरा नविन पौडेलले सुकुम्बासी समस्या समाधान आयोगबाट नक्कली सुकुम्बासी बनी सरकारी सार्वजनिक जग्गाको पुर्जा लिएको देखिन्छ ।

अतः आफ्नो जग्गा जमिन हँुदा हँुदै राज्यको निकायलाई शक्ति र पहँुच लगाई नक्कली सुकुम्बासी बनी जग्गा जमिन हडप्नु पनि भ्रष्टाचार जन्य कार्य हो ।हालसम्म पनि निज पौडेलले आफ्नो छोराले नक्कली सुकुम्बासी बनी लिएका जग्गा वा सो जग्गा बराबरको रकम नेपाल सरकारको कोषमा जम्मा गरेका छैनन् । निज अर्थमन्त्री पौडेलले नक्कली सुकुम्बासी बनेर प्राप्त गरेको जग्गा र त्यहाँ बनेको घर बेची काठमाडौँको कलंकीमा घर जग्गा जोडेको देखिन्छ । साथै कलंकीको घरजग्गा बेचेर ललितपुर जिल्लाको भैसेपाटी आवास क्षेत्रमा घर जग्गा किनेको रेकर्ड भेटिन्छ ।

त्यस्तै, नक्कली सुकुम्बासी बनी आर्जन गरेको सम्पत्तिबाट ललितपुरको भैसेपाटी आवास क्षेत्रमा जग्गा जमिन जोडेको पाइन्छ । त्यस्तै स्याङजाको जमिन बेचेर भुताहामा जग्गा किनेको जमिन बेची बालुवाटारमा दुई कित्ता जमिन छोरा नविन पौडेलको नाममा किनेको समेत देखिन्छ । २०६४ सालमा विष्णु प्रसाद पौडेलले नन्द केशर ढकालको १ कठ्ठा जग्गा रु १३ लाखमा किनेको साथै सो जग्गामा सानो घर समेत बनाई सो घर जग्गा ०७९ सालमा रु ८० लाखमा बेचेको देखिन्छ । अत अर्थमन्त्री पौडेललाई आफूसँग जग्गा जमिन हँुदा हँुदै सरकारी जग्गा नक्कली सुकुम्बासी बनेर हत्याएकोले सो राज्यलाई फिर्ता गर्न पर्ने कि नपर्ने भन्ने प्रश्न समेत उठेको छ । त्यस्तै बालुवाटार ललिता निवासको सरकारी जग्गा विष्णु प्रसाद पौडेलका छोरा नविन पौडेलले किनेकोमा सो उपर मुद्धा परी अन्य जग्गा किन्नेहरुलाई मुद्धा चलाइएकोमा निज विष्णु प्रसाद पौडेलको छोरा नविन पौडेललाई भने जग्गा फिर्ता गर्ने सर्तमा मुद्धा नचलाई उन्मुक्ति दिने भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय गरेको देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने कुनै चोरले चोरेको सामान फिर्ता दियो भने इमान्दार चोर भन्दै उसलाई कुनै छानविन गरिन्न वा मुद्धा नचलाई उन्मुक्ति दिइन्छ भने के त्यो न्याय संगत हुन्छ ? प्रश्न खडा भएको छ ।

बालुवाटारको सरकारी जग्गा हडपेर बेच्ने शोभाकान्त ढकाललाई त्रिताल आयोगले भूमिाफिया करार गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले दशकौँदेखि भूमाफिया शोभाकान्त ढकाललाई चिन्दै आएको र सम्बन्ध समेत सुमधुर हँुदै आएको देखिन्छ । बालुवाटारको जग्गा खरिद गर्दामात्र निजहरुको चिनजान भएको हैन । २०६४ को संविधान सभा निर्वाचनमा पौडेलले शोभाकान्त ढकाललाई समानुपातिक तिरको उम्मेदवार बनाउन खोजेका थिए । विष्णु प्रसाद पौडेलले ढकालको व्यवसायमा राज्यको शक्ति प्रयोग गरी अगाडि बढाएकोले बालुवाटारको ८ आना ललिता निवासको जग्गा उपलब्ध गराएको देखिन्छ । अत माथि उल्लेखित प्रकरणहरुबाट के देखिन्छ भने आफ्नो नाममा जग्गा जमिन हँुदा हँुदै पनि झुठा विवरण पेश गरी नक्कली सुकुम्बासी बनी सार्वजनिक जग्गा हत्याउने तर अहिले सम्म फिर्ता नगर्ने ,त्यस्तै आफ्नो छोराको नाममा ललिताको निवासको सरकारी जग्गा खरिद गर्ने अनि जग्गा फिर्ता गर्छु भनेको भरमा मुद्धा नचलाई छोड्नु गैर कानुनी कार्य हो । तसर्थ बालुवाटारको ललिता निवासको सरकारी जग्गा खरिद बिक्री काण्डमा मुछिएका अन्यलाई झै निज विष्णुप्रसाद पौडेललाई पनि अनुसन्धान र कारबाही हुनपर्ने देखिन्छ । अत यस्ता विवादास्पद व्यक्ति विष्णु प्रसाद पौडेलको मन्त्री बन्ने त्यहाँमाथि पनि राज्यकै ढुकुटी जिम्मा लाउने विषय दिन त के सोच्न समेत सकिन्न ।

सरकारी जग्गा जमिनको संरक्षण गर्नुको साट्टो मौका मिलाएर आफ्नो बनाउने ,आफ्नो जिम्मेवारी बिर्सने विष्णु प्रसाद पौडेल जस्ता व्यक्तिमा मन्त्री बन्न उच्च नैतिकता समेत नभएकोले तत्काल निज विष्णु प्रसाद पौडेलले के कसरी आफ्नो छोरा नविन पौडेललाई प्रयोग गरी बुटवलको देवीनगर र काठमाडौँको बालुवाटारमा सरकारी जग्गा किनेका हुन् निजलाई तत्काल पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गर्दै प्रस्तुत उजुरी पेश गरेको छु । मैले अख्तियारमा पेश गरेको उजुरीमा उल्लेखित घटना तथा विवरण सत्य ,यथार्थताको धरातलमा अडिएर आएको हँुदा उल्लेखित विवरणमा भएका विवरण तलमाथि देखिएको खण्डमा आवश्यक कानुनी कारबाही भोग्न तयार रहेको र अन्य आरोपितलाई मुद्धा चलाई विष्णु प्रसाद पौडेलको हकमा जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाइएको भन्दै मुद्धा नचलाउने भनी अख्तियारले गरेको निर्णय दुषित ,गैरकानुनी भएकोले तत्काल विष्णु प्रसाद पौडेलमाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउन चाहन्छु । यदि अख्तियारले आवश्यक अनुसन्धान एवम् कारबाही नगरेको खण्डमा सम्मानित सर्वोच्च अदालत गएर भएपनि आवश्यक कानुनी उपचार खोज्न बाध्य हुने पनि उल्लेख गर्न चाहन्छु । त्यस्तै निजको सम्पत्ति छानविन गर्न सम्पत्ति शुद्धिकरण विभागलाई पत्रचार गर्न समेत माग गर्दछु ।



प्रतिक्रिया दिनुहोस्