Logo

‘नो इफ, नो बट, हाम्रो कुरा क्लियर कटः भ्रष्टाचारको मुद्दामा हदम्याद मान्य छैन’



काठमाडौं, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूहरुलाई भ्रष्टाचारको मुद्दामा हदम्याद मान्य नहुने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको विशेष समयमा उनले भ्रष्टाचारको मुद्दामा कुनै पनि हदम्याद राखिन नहुने बताएका हुन् । ‘भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुनेछैन, नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट,’– उनले भने ।

केही सचेत युवाहरुको भ्रष्टाचारको मुद्दामा हदम्याद राखिन नहुने भन्दै एउटा भिडियो बनाएको र सो भिडियोमा केही सांसदहरुलाई फोन गरेर दवाब दिन भनिएकोमा आफूलाई दुई हजारभन्दा बढी युवाहरुले फोन गरेको बताए । उनले यसरी भिडियो बनाएर भ्रष्टाचारको मुद्दामा हदम्याद राखिन हुँदैन भनेर दवाब दिने युवाहरुलाई ‘सचेत युवा’ को संज्ञा दिँदै उनले धन्यवाद व्यक्त गरे ।

‘देशका होनाहार युवाहरु, १८, १९, २० वर्षका युवाहरुले देशको चिन्ता गरेर हामीलाई फोन गरेका छन् । म सदन छिरेर अहिले भर्खरै चेक गरेको धेरै कल आएको छ । ती सबै युवाहरुको एउटै चिन्ता छ, भ्रष्टाचारको मामलामा कुनै हदम्याद हुन हुँदैन भन्ने छ,’– लामिछानेले भने ।

साथै, गलत मनसाय राखेर मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराउने क्रम रोकिनु पर्ने उनको माग छ । Photo By: Mukunda kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्