Logo

भ्रष्टाचार गर्दिनँ भनेर ठूल्ठूला भाषण गर्ने सरकार नीतिगत सेटिङ गरिरहेको छः पूर्वमन्त्री अर्याल



काठमाडौं, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले वर्तमान सरकारले संविधानको धारा १७ ले दिएको विचार र अभिव्यक्तिको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने दुष्प्रयास गरिरहेको आरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको शून्य समयमा उनले भ्रष्टाचारको विरोधमा सरकारले नागरिकहरुलाई बोल्नै नदिएको बताएका हुन् । सरकारले भ्रष्टचारको विरोधमा आवाज उठाइरहेका युवाहरुलाई धरपकड गर्ने र शान्तिपूर्ण भेला हुन नदिने जस्ता अलोकतान्त्रिक गतिविधि गरिरहेको उनको भनाइ छ ।

‘संविधानको धारा १७ मा विचार र अभिव्यक्ति स्वतन्त्रता, विना हात हतियार शान्तिपूर्वक भेला हुन पाउने हक समेटिएको छ । तर, सरकार भने भ्रष्टाचारविरुद्ध उठाइएका आवाजहरुलाई थुन्ने प्रयास गरिरहेको छ । अब सरकारका गलत कामका विरुद्ध बोल्नै नपाइने हो ? हामीले अभ्यास गरिरहेको लोकतन्त्र यही हो ? भ्रष्टाचारविरुद्ध आजाव उठाइरहेको युवाहरुलाई धरपकड गर्ने, शान्तिपूर्ण भेला हुन नदिनेजस्ता सरकारले अलोकतान्त्रिक काम गरिरहेको छ,’– उनले भने ।

साथै, सरकारमा रहेकाहरुले भ्रष्टाचार गर्दिँन भनेर ठूला–ठूला भाषण गरेपनि नीतिगत रुपमा भ्रष्टाचारको सेटिङ भइरहेको उनको आरोप छ । उनले सरकारले सुशासन कायम गर्छु भनेर भाषण गरेपनि वहालवाला शिक्षामन्त्रीले विश्वविद्यालमा सुरक्षा चाहियो भनेर सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई गुहार्नु पर्ने दिन आएको बताए ।

उनले ‘शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरौं, शिक्षामा दलीय राजनीति नगरौं, शिक्षकहरुलाई राजनीतिबाट बाहिर राखौं’ प्रधानमन्त्री केपी शर्मा ओलीबाटै विरोध भएको बताए ।



प्रतिक्रिया दिनुहोस्