Logo

प्रधानमन्त्रीलाई सांसद शर्माको प्रश्न, ‘…संविधान संशोधन गर्ने आँट छ’, ओलीको जवाफ, ‘आँट देखाउने भएर उल्किनुपर्ने जरूरी छैन’



काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन सबैको साझा सवाल रहेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा सांसद नारायणी शर्माले सोधेको प्रश्नमा जवाफ दिँदै उनले संविधान कार्यान्वयनको आठ वर्षको अनुभव र देशको आवश्यक्ताका आधारमा संशोधन गरिने बताएका हुन् ।

कांग्रेस–एमालेसहितको गठबन्धन सरकारको मुख्य एजेण्डा संविधान संशोधन पनि रहेको भन्ने बुझिएको बताउँदै सांसद शर्माले, ‘जनता र राष्ट्रको पक्षमा संविधान संशोधन गर्दा अहिलेको महँगी र भ्रष्टाचारको मुहान रहेको निर्वाचन प्रणाली बदलेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्, जहाँ महिलाहरुको ५१ प्रतिशत सहभागिता हुनेगरी संविधान संशोधन गर्ने आँट यो गठबन्धन सरकारले गर्न सक्छ त ?’ भनि प्रश्न गरेकी थिईन् ।

सांसद शर्माको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘संविधानमा संशोधन हामीले आठ वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताको आधारमा गरिने हो । देशको आवश्यकत्ता भन्नाले देशको हित, जनता, विकास, सुशासनको पक्षमा, सुशासन, समृद्धि, समानताकाृ पक्षमा अगाडि बढाउन जे आवश्यक पर्छ त्यो गर्ने हो । यसमा आँट र नआँट भन्ने प्रश्न नै उठ्दैन । यसमा आँट देखाउने भएर उल्किनुपर्ने जरुरी पनि छैन । जे आवश्यक छ, त्यो आँट नगर्ने भन्ने कुरा पनि हुँदैन । जे आवश्यक छैन त्यसमा हौसिएर आँट गर्नुपर्ने आवश्यक्ता पनि हुँदैन । यसमा हामी कसैले आँट गर्ने, कसैले आँट गर्छ कि गर्दैन भनेर हेर्ने होईन । आँट गर्न परे सबैले गरौंला, आँट गर्न जरूरी नपरे सबैले नगरौंला । यो साझा सवाल हो, साझा ढंगले समाधान गरौंला ।’



प्रतिक्रिया दिनुहोस्