Logo

प्रहरीमा ३० वर्षे सेवा अवधिविरुद्धको रिटमा अन्तरिम आदेश जारी, तत्कालका लागि जागिर जोगियो



काठमाडौं, ६ भदौ । ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकारीहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अन्तरिम आदेश दिएको छ । आज (बिहीबार) सुनुवाइ गर्दै न्यायाधीश फुँयालको इजलासले ३० वर्षे सेवा अवधिका कारण अवकाश दिने व्यवस्था तत्काललाई कार्यान्वयन नगर्न आदेश दिएको हो ।

उमेर हद बाँकी रहेपनि सेवा अवधि ३० वर्ष पूरा भएको कारण अवकाश जानुपर्ने दिन नजिकिएसँगै वरिष्ठ प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी अधिकारीहरुले रिट दायर गरेका थिए । प्रहरी उपरीक्षक श्रेष्ठसहित ९० जना प्रहरी अधिकारीहरु आगामी भदौ १५ गतेदेखि सेवा अवधिका कारण अवकाश जाँदैथिए । अदालतको आदेशले उनीहरुको जागिर तत्कालका लागि थामिँएको छ ।

सर्वोच्चले उक्त रिटलाई अग्रधिकार दिँदै पूर्ण सुनुवाइका लागि आगामी असोज १० गते पेशी तोक्न आदेश जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी किताबखाना समेतलाई विपक्षी बनाई रिट दायर गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्