Logo

विद्युत वक्यौताबारेको प्रश्नमा प्रचण्ड नेतृत्वको अघिल्लो सरकारलाई प्रधानमन्त्री ओलीको प्रतिप्रश्न



काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले डेडिकेटेड र ट्रंक लाईनका विद्युत उपभोक्ताहरुबाट बक्यौता उठाएरै छाड्ने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले सरकारले विद्युत महशुल नउठाउने भनेर कहिले पनि नभनेको बताए । उनले विद्युत महशुलका सन्दर्भमा अनावश्यक हल्ला चलाइएको दाबी गरे ।

नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर घतीमगरले ‘सर्वसाधारण जनतालाई लोडसेडिङमा राखेर दिइएको विद्युतको बक्यौता नतिर्ने उद्योगीहरुबाट बक्यौता उठाएर सर्वसाधारण उपभोक्तालाई सहुलियत दिन हुँदैन ?’ भनि राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई ‘२२ अर्ब असुल गर्नुपर्ने ६ अर्बमात्रै किन भयो त ?’ भन्दै प्रतिप्रश्न गरे ।

उनले डेडिकेटेड र ट्रंक लाईनको इष्यु ८÷१० वर्ष अगाडिदेखिको रहेको बताउँदै वर्षामा विद्युत खेर गइरहेको बेलामा उद्योगहरुको लाइन काट्नु उपयुक्त नहुने बताए । प्रधानमन्त्री ओलीले महालेखा परीक्षकको प्रतिवेदनमा २२ अर्ब विद्युत बक्यौता बाँकी रहेको कुरा उल्लेख भएपनि प्रचण्ड नेतृत्वको सरकारले गोलमोटल गरेर ६ अर्बमा झारेको आरोप लगाए । यसअघि पनि पटक–पटक लाइन काट्ने र जोड्ने श्रृङ्खला चलेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले त्यसो किन भयो त ? भन्दै प्रतिप्रश्न गरे ।

‘२२ अर्ब असुल गर्नुपर्ने ६ अर्बमात्रै किन भयो त ? अहिलेको सरकारले उठाउनुपर्छ, उपभोग गरेको विद्युतको महशुल उठाउनुपर्छ । उपभोग गरेको छैन भने उठाउनुपर्दैन भनेको हो । उपभोग गरेको महशुल उठाउनुपर्दैन भनेर कसले भनेको छ र ?’ उनले प्रतिप्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्