Logo

भ्रष्टाचार नियन्त्रण प्रचारबाजी र होहल्लाको विषय बन्नुहुँदैनः प्रधानमन्त्री ओली



काठमाडौँ, ६ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा.नारायण खड्काको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनमा राजस्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको बताएका हुन् ।

घरजग्गा कारोवार क्रमशः बृद्धि हुँदै गएको र पुँजीबजारमा उल्लेखनीय सुधार आएको उल्लेख गर्दै प्रधानमन्त्रीले निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको बताए । राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिका कारण यो सकारात्मक संकेत देखिएको उनको भनाइ थियो ।

‘सरकारले जनतामा रहेको निराशा हटाउँदै राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने छ । राजनीतिमा अस्थिरता र जनतामा निराशा राखेर हामी ती काम पूरा गर्न सक्दैनौँ । ठूला दल नेकपा ९एमाले० र नेपाली कांग्रेस मिल्नुपर्ने कारण यही हो,’ प्रधानमन्त्री ओलीले भने ।

भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न सरकारले लिएको शून्य सहनशीलताको नीति मौखिक प्रतिबद्धता देखावटी नभएको उनको भनाइ छ । ‘हामीले भ्रष्टाचार नियन्त्रण गर्ने कामलाई क्षणिक प्रचारबाजीको विषय बनाएर होइन । नियन्त्रणका कानुनी प्रक्रिया अपनाएरै टुङ्गोमा पुर्‍याउनुपर्छ । भ्रष्टाचार नियन्त्रण होहल्लाको विषयमात्रै बन्नु हुँदैन, कानुनी अनुसन्धान र नतिजामुखी हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ,’– उनले भने ।

प्रधानमन्त्री ओलीले कार्यान्वयनको अनुभव र जनताको इच्छा, आकाङ्क्षा र राष्ट्रको आवश्यकताका आधारमा राजनीतिक दलहरूको सहमतिमा संविधानमा समयानुकुल परिमार्जन गर्न सकिने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्