Logo

रञ्जितालक्षित रेशमको टिप्पणीः राजबन्दीको पीडाले नाउपा जन्मियो तर अरुले नै रजाइँ गरे



काठमाडौं, ७ भदौ । टीकापुर हत्याकाण्ड भएको ९ वर्ष पूरा भएको छ । २०७२ भदौ ७ गते आजकै दिन कैलालीको टीकापुरमा सात जना प्रहरी र एक जना बालकको ज्यान जानेगरी हत्या भएको थियो । उक्त विद्रोहमा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितको टोलीमाथि खुर्पा, भाला, बञ्चरो, खुकुरी लगायतका घरेलु हतियारहरू प्रहार गरी हत्या गरिएको थियो ।

वरिष्ठ प्रहरी उपरीक्षक न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका, प्रहरी जवान लोकेन्द्र चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरी र २ वर्षिय बालक टेकबहादुर साउद उक्त घटनामा मारिएका थिए ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनालाई ‘कालो दिन’ को रुपमा सम्झिएका छन् । उक्त घटनाको प्रमुख योजनाकार रहेको आरोपमा उनले लामो समय जेल जीवन विताएका थिए । राष्ट्रपतिबाट आममाफी पाएका रेशमले टीकापुर विद्रोहमा आफ्नो श्रीसम्पत्ति लुटिएको सम्झना गरेका छन् । त्यस्तै, आफूलाई अनाहकमा उक्त घटनामा जोडेर सजाय दिइएको बताउँदै आएका रेशमले राजबन्दीको नाममा अरुले नै रजाइँ गरेकोसमेत टिप्पणी गरेका छन् ।

‘सम्पुर्ण टीकापुर बासिका लागि कालो दिन । थारु बिद्रोह भएको दिन । हाम्रो श्री सम्पत्ति लुटिएको,आगजनी भएको दिन । कारागारबाट रिहाई भएको करिब डेढ बर्ष हुँदापनि आजसम्म फुलबारी एफएमको दैलो टेक्न सकेको छैन । आगजनीका भगनावशेष यथावत छन् । राजबन्दीको पीडाले नागरिक उन्मुक्ति जन्मियो, मैले त केवल अक्षरांस गरेको हुँ । छातीमा असह्य पीडा तब हुन्छ जब राजबन्दिको नाममा अरुले रजाइँ मात्रै होइन, हामीलाई नै चित्कारिए पीडा दिन थाल्छन् । टीकापुर बिद्रोह दिवसमा सबैलाई स्मरण गर्दछु’– सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्