Logo

रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट पीडित भएकाहरुको उजुरी दर्ता नगर्न दवाब दिएको खतिवडाको दाबी (भिडिओसहित)



काठमाडौं, ७ भदौ । प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा आफूविरुद्ध सहकारी ठगी प्रकरणमा आएका उजुरी दर्ता नगर्न दवाब दिएको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पोखराको सूर्यदर्शन सहकारीबाट पीडित भएका १२÷१५ जना तत्कालीन गृहमन्त्री लामिछानेविरुद्ध उजुरी दर्ता गर्न आउँदा उजुरी दर्ता नगर्न लामिछानेबाट फोन आएको बताएका हुन् । लामिछानेले दवाब सिर्जना गर्न खोजेपछि गृहमन्त्रालयसँग जोडिएको विषय भएकाले आफूले उक्त उजुरी दर्ता गरेको र आवश्यक परे सो उजुरी सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग गर्न बनेको विशेष समितिलाई दिने बताए ।

‘त्यहीबेला पोखराको सूर्यदर्शन सहकारीबाट आउनु भएका साथीहरुले उजुरी लिएर म कहाँ आउनुभयो । रवि लामिछानेको सहभागितामा ठगी भएको छ, हामी ठगियौं भनेर उजुरी लिएर आउनुभयो । राज्य व्यवस्था तथा सुशासन समितिमा दर्ता गर्ने कि नगर्ने भनेर चर्चा चल्यो । माननीय रवि लामिछानेले मलाई फोन गर्नुभयो । सभापतिजी यो तपाईँको कार्यक्षेत्र होईन, यो कृषि सहकारी समितिमा जान्छ । त्यसलाई अहिले दर्ता नगरौं भन्नुभयो । मैले त्यसलाई दर्ता गरेँ । गृहमन्त्रालयसँग सम्बन्धित उजुरी आएपछि राज्य व्यवस्थामा दर्ता भयो,’– उनले भने ।

उक्त उजुरी दर्ता भएपश्चात मन्त्रालयको काम कारबाहीको सम्बन्धमा समितिले बोलाएको बैठकमा तत्कालीन गृहमन्त्री लामिछानेले कास्कीका एसपी मोहन थापालाई समेत बोलाएको उनले सुनाए । लामिछानेले ‘चोरको खुट्टा काट् भन्दा चोरले आफ्नो खुट्टा तान्छ’ भन्ने उखानको चरितार्थ गरेको उनको टिप्पणी छ ।

मन्त्रालयको काम कारबाहीको सम्बन्धमा बोलाइएको बैठकमा तत्कालीन गृहमन्त्री लामिछाने सहकारी ठगीको विषयतर्फ प्रवेश गर्न खोज्दा आफूले रोकेको उनले बताए । कास्कीका एसपी थापालाई बोल्ने समय नै नदिइएको उनले सुनाए । समितिका सभापति खतिवडाले सहकारी ठगी प्रकरणमा लामिछानेको कही न कहीँ संलग्नता पुष्टि हुनेसमेत दाबी गरे । उनले विशेष समितिमा अहिले छानविन चलिरहेकाले यो भन्दा बढी बोल्न उपयुक्त नहुने उनको भनाइ छ ।

तत्कालीन गृहमन्त्री लामिछानेविरुद्धको उजुरी दर्ता गर्दा त्यसबेला माओवादी–एमालेको सरकार रहेको र केही एमालेका सांसद र वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्रीले आफूमाथि हस्तक्षेप नै गर्ने खोजेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्