Logo

टीकापुर जग्गा प्रकरणमा नाम मुछिएपछि पहिलो पटक बोले रेशम चौधरी



काठमाडौं, ७ भदौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले टीकापूर विकास समितिको जग्गा घोटलामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । नाउपाले आयोजना गरेको टीकापुर विद्रोह दिवसलाई सम्बोधन गर्दै उनले उक्त जग्गा आफूले टीकापुर विकास समितिबाट पैसा हालेर किनेको बताए ।

‘टीकापुर विकास समितिबाट मैले किनेको जग्गालाई आजभोलि भन्छन्, टीकापुरको जग्गा काण्डमा रेशम चौधरी मुछिएको छ । रेशम चौधरी फोकटमा मुछिएको छैन ।’ उनले भने, ‘रेशम चौधरीले खनखन रुपैयाँ गनेर टीकापुर विकास समितिबाट किनेको जग्गा हो । तपाईँलाई चाहिन्छ, लैजानुस्, मलाई भ्रममा नपार्नुस्, मलाई दुविधामा नपार्नुस् । षड्यन्त्रको जालोभित्र म फस्नेवाला छैन । २, ४ कट्ठा जग्गा चाहिन्छ भने यसमा मेरो कुनै लोभ पनि छैन । तर, त्यसबेला भन्नुपर्छ राज्य किन बेइमानी हुन्छ ?’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर जग्गा हिनामिनामा संलग्न २ सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अख्तियारले रेशमलाई प्रतिवादी भने बनाएको थिएन । तर, नाउपाका संरक्षक रेशम र नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री आरजु राणा पनि सो जग्गा घोटला प्रकरणमा मुछिएको भन्दै व्यापक आलोचना भएको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्