Logo

कैलालीको टीकापुरलाई छुट्टै जिल्ला बनाउने रेशम चौधरीको उद्घोष



काठमाडौं, ७ भदौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले कैलालीको टीकापुरलाई छु्ट्टै जिल्ला बनाउने उद्घोष गरेका छन् । आज (शुक्रबार) नाउपाले आयोजना गरेको टीकापुर विद्रोह दिवसलाई सम्बोधन गर्दै उनले अब टीकापुर जिल्ला बनाउने आफ्नो पाइला कसैले पनि रोक्न नसक्ने बताएका हुन् । उनले टीकापुर जिल्ला बनाउन स्वर्गीय खड्क बहादुर सिंहको योजनामा आफू हिँडिरहँदा अनेक षड्यन्त्र गरिएको उनको भनाइ छ ।

‘टीकापुर जिल्ला बनाउने स्वर्गीय खड्क बहादुर सिंहको योजनामा रेशम चौधरीले पैँताला टेक्दैथियो । २०२७ सालमा घोषणा हुनैलागेको टीकापुर जिल्लाबाट सधैं अरु मान्छेहरु त्रस्त भइरहे । रेशम चौधरीले टेकेको पैँतालामा टिकापुर जिल्ला बनिहाल्छ कि भन्ने उत्तर, दक्षिण, पूर्व, पश्चिमका अन्य साथीहरुलाई ठूलो डर थियो । यो मञ्चबाट आज म उद्घोष गर्दैछु– टीकापुर जिल्ला एक बन्छ, दुई बन्छ, तीन बन्छ,’– उनले भने ।

आफूलाई जेलमा टीकापुर विद्रोहका बारेमा पूर्वसभामुख कृष्णबहादुर महराले उक्त घटना सुनियोजित रहेको बताएको उनले सुनाए । महराले आफूलाई ‘टीकापुर घटना नघटाइ संविधान जारी गर्न सकिन्थेन’ भनी सुनाएको पनि उनले बताए । साथै अहिले पनि देशमा उथलपुथल हुने प्रयत्न भइरहेको उनको दाबी छ । उनले आफू नेता बनेको धेरैलाई मन नपरेको पनि बताए ।

‘अहिले पनि देशमा उथलपुथल हुने प्रयत्न हुँदैछ । देशमा अरु मान्छे जागेको मन परेको छैन । रेशम थारू नेता भएको धेरैलाई पचेको छैन । थारू–थारू मिलेभने मुलुक बिग्रिन्छ, थारू–थारू मिलेभने मुलुक नै जान्छ कि भन्ने डर छ,’– उनले भने । File Photo



प्रतिक्रिया दिनुहोस्