Logo

केही हाई-प्रोफाइल नेताहरू पक्राउ पर्नेवाला थिए, त्यसको प्रतिक्रियास्वरुप कांग्रेस-एमालेको गठबन्धन बन्योः सिके राउत (भिडिओसहित)



काठमाडौं, ८ भदौ । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा. सिके राउतले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारमा मुछिएका नेता र तिनका नातागोतालाई पक्राउ गर्न खोजेको प्रतिक्रिया स्वरुप कांग्रेस–एमालेको गठबन्धन बनेको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भ्रष्टाचारमा मुछिएका केही हाई प्रोफाइल नेता र तिनका आफन्त जोगाउनका लागि कांग्रेस–एमालेसहितको गठबन्धनमा वर्तमान सरकार बनेको टिप्पणी गरेका हुन् ।

नेता राउतले वर्तमान सरकारले जनतालाई भ्रमित पार्नका लागि मात्रै संविधान संशोधनको एजेण्डा ल्याएको बताए । उनले संविधान संशोधनको कुराले कोही भ्रमित नहुन पनि आग्रह गरे । संविधान संशोधन गर्ने हो भने दुई ठूला दल सरकारमा जान आवश्यक नै नरहेको उनको भनाइ छ ।

‘जनतालाई भ्रमित गर्नका लागिमात्रै संविधान संशोधनको एजेण्डा ल्याइएको हो । यसमा स्पष्ट रहनुपर्छ, जनता पनि सजग रहनुपर्छ । जुन दिन यो गठबन्धन बन्यो त्योभन्दा १०/१२ घण्टा अगाडिसम्म के चर्चा थियो । जताततै भ्रष्टाचारको कुरा चलिरहेको थियो । यो फाइल खुल्दैछ, त्यो फाइल खुल्दैछ, यो काण्डमा अनुसन्धान हुँदैछ भन्ने भइरहेको थियो । एकाएक संविधान संशोधनको भाष्य सिर्जना गरियो । त्यो कुनै संविधान संशोधनको एजेण्डा होईन ।’ नेता राउतले थपे, ‘संविधान संशोधनका लागि दुई वटा पार्टी मिलेर सरकार बनाउनु आवश्यक छैन । सदनबाट गर्ने हो, सरकार बनाउन पर्दैन । त्यो आवश्यक थिएन । यहाँ आफ्नो रक्षाको लागिमात्रै पुराना पार्टीहरुले गठबन्धन गरेका हुन् । यहाँ हाई प्रोफाइल नेताहरु पक्राउ पर्नेवाला थिए, उनका नातागोताहरु पक्राउ पर्नेवाला थिए । त्यसको तयारीमा तत्कालीन सरकार लागेको थियो । त्यसको प्रतिक्रियाको रुपमा यो आकस्मिक भएको हो ।’

जनताले आशा गरेको जस्तो संविधान संशोधनको एजेण्डामा वर्तमान सरकार प्रवेश नै नगर्ने उनको दाबी छ । नेता राउतले कांग्रेस–एमालेका नेताहरु नयाँ पार्टीबाट त्रसित रहेको टिप्पणी गरे । नयाँ पार्टी कुनै दिन सत्तामा पुग्यो भने जल हालिदिन्छन् कि भनेर भ्रष्टाचारमा ५ वर्षे हदम्याद ल्याउने तयारी भइरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्