Logo

जनताले बंगलादेशको जस्तो विद्रोह गर्नुको विकल्प छैनः सिके राउत (भिडिओसहित)



काठमाडौं, ८ भदौ । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा.सिके राउतले जनताले बंगलादेशको जस्तो विद्रोह गर्नुको विकल्प नरहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देश ३४/३५ वर्षदेखि तीन/चार जना नेताहरुको सिन्डिकेटमा रहेको र त्यसबाट बाहिर ल्याउनका लागि विद्रोहको विकल्प नरहेको बताएका हुन् । परिवर्तनको आकांक्षा राख्ने जनताहरु सडक विद्रोहमा होमिन आवश्यक रहेको उनले बताए ।

‘श्रीलङ्का, बंगलादेशमा जनताले देखाइदिए । बंगलादेशमा घटना हुनेवित्तिकै यहाँ पनि चारैतिर कर्फ्यू, निषेधाज्ञाजस्तो भएको छ, चारैतिर चेकजाँच बढाइएको छ । त्रासको मानसिकतामा उनीहरु बाँचिरहेका छन् । जनता जतिबेला पनि नेपालमा पनि भड्किन सक्छन् । एकचोटी भड्कियो भने फेरि रोकिनेवाला छैनन् । कुनै जनताले विद्रोह नगरेर विकसित हुन्छ भन्ने सोच्छ भने त्यो भन्दा मुर्ख जनता कोही छैन । विद्रोह नगरेर केही हुनेवाला छैन । यिनीहरुको सिन्डिकेट छ, तीन चार जना नेता मिलेर देशलाई ३४ वर्षदेखि खाइरहेका छन्,’– उनले भने ।

साथै, नेता राउतले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारमा मुछिएका नेता र तिनका नातागोतालाई पक्राउ गर्न खोजेको प्रतिक्रिया स्वरुप कांग्रेस–एमालेको गठबन्धन बनेको बताए । उनले भ्रष्टाचारमा मुछिएका केही हाई प्रोफाइल नेता र तिनका आफन्त जोगाउनका लागि कांग्रेस–एमालेसहितको गठबन्धनमा वर्तमान सरकार बनेको टिप्पणी गरे ।

नेता राउतले वर्तमान सरकारले जनतालाई भ्रमित पार्नका लागि मात्रै संविधान संशोधनको एजेण्डा ल्याएको बताए । उनले संविधान संशोधनको कुराले कोही भ्रमित नहुन पनि आग्रह गरे । संविधान संशोधन गर्ने हो भने दुई ठूला दल सरकारमा जान आवश्यक नै नरहेको उनको भनाइ छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्