Logo

आरजुबारे दलित अभियन्ता खगेन्द्रको टिप्पणीः ‘यो देशमा सामन्तीको छोरीको के योगदान छ ?’



काठमाडौं, ८ भदौ । दलितका लागि दलित अभियानका अभियन्ता खगेन्द्र सुनारले देश लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गर्दा पनि दलित समुदाय अझै पनि विभेदमै रहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राज्यका विभिन्न निकायदेखि पाटी, पौवा र पँधेरोमा दलित समुदायमाथि विभेद रहेको बताए । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको जातीय विभेदको विरोधस्वरुप पछिल्लो १८ दिनदेखि माइतीघर मण्डलामा नेल लगाएर आन्दोलनमा उत्रिएको उनले सुनाए ।

‘लोकतन्त्र, गणतन्त्र आउँदै गर्दा पनि आजको समयमा दलितहरुलाई हातखुट्टा बाँधिएर राखिएको छ । राज्यको माथिल्लो निकायदेखि पाटी, पँधेरोसम्म दलितहरुलाई हातखुट्टा बाँधेर राखिएको छ । लामो समयदेखि अपमान र घृणा सहेर बसेको समुदायहरुको न्याय र हामी नेल लगाएर जेल बस्न पनि तयार छौं भनेर संकेत र सन्देश दिन आएका हौं ,’ उनले भने, ‘पछिल्लो समय ओली नेतृत्वको सरकारमा दलितहरुलाई गरिएको विभेद र ओलीले दलितहरुलाई गरेको जातीय विभेदको विरुद्धमा हामी छौं ।’

कांग्रेस–एमाले जस्ता ठूला दलहरु सरकारमा जाँदा ६० लाख दलितको मुद्दा नसुनिएको उनको भनाइ छ । हिजो पञ्चायती व्यवस्थाको मन्त्रिपरिषद्मा पनि दलित समुदायले उपस्थिति जनाउन पाएको स्मरण गराउँदै उनले आजको व्यवस्थामा सिंहदरबारमा एक जना पनि दलित समुदायको प्रतिनिधित्व नहुनुलाई लोकतन्त्र मान्न नसकिने उनको भनाइ छ । कांग्रेस–एमालेको सरकार हुँदा एक जना पनि दलितलाई सिंहदरबार छिर्न नदिएको टिप्पणी गरे ।

फरक प्रसंगमा खगेन्द्रले कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको कडा आलोचना गरे । डा. राणाको भन्दा वर्तमान सरकारमा राज्यमन्त्री रहेकी रुपा विकको वैट धेरै रहेको उनको दाबी छ । उनले नेपालको महिला आन्दोलन, दलित आन्दोलन र कांग्रेस भित्र सामन्तीको छोरीको के योगदान छ ? भन्दै प्रश्नसमेत गरे ।

‘शेरबहादुर देउवाकी श्रीमति आरजु देउवा र राज्यमन्त्री बनेकी रूपा विक जो हुनुहुन्छ । उहाँहरु दुई जनालाई तराजुमा तौलिने हो भने रूपा विकको वेइट आजको मितिमा धेरै छ । त्यही समानुपातिक समावेशी पद्धतिबाट आएको होईन आरजु देउवा ? कहाँबाट चुनाव जितेर आउनुभएको हो उहाँ ? के चुनाव जितेर आउनु भएको हो उहाँ ? के योगदान छ ? नेपालको दलित आन्दोलनमा, कांग्रेसको आन्दोलनमा, महिलाको आन्दोलनमा त्यो राणाको छोरीको, सामन्तीहरुको के योगदान छ ?’ उनले प्रश्न गरे ।

आरजु देउवा मन्त्री हुँदैगर्दा कर्णालीका सुत्केरी दलित महिलाहरु एक मुठी जुवानोको झोल खान पाएको भए सास आउँथ्यो भन्ने आवस्थामा बसिरहेको उनले बताए । सबैभन्दा बढी आजका दिनमा कसैले दलित समुदायलाई दिनुपर्ने छ भने त्यो कांग्रेसले दिनुपर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्