Logo

रवि लामिछानेलाई प्रश्नः ‘जिबी राईसँग संगत गरेकोमा ग्लानी छ कि छैन ?’



काठमाडौं, ८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष जिबी राईसँग बुझेर संगत गरिएनछ भन्ने महशुस भएको बताएका छन् । आज (शनिबार) चितवन पुगेको लामिछानेलाई सञ्चारकर्मीहरुले ‘जिबी राईसँग संगत गरेकोमा आजको दिनमा ग्लानी अथवा पश्चताप छ कि छैन ?’ भनी प्रश्न गरेका थिए ।

उक्त प्रश्नको जवाफ दिँदै उनले भने, ‘जिबी राईसँग संगत गरेकोमा गलत क्रियाकलापहरु भएको रहेछ भन्ने कुरा आज देख्दाखेरी अझ बढी ध्यान दिनुपथ्र्यो होला, अझ हेर्नुपथ्र्यो होला भन्ने कुराको महशुस त भइहाल्छ नि । मान्छेलाई थाहा पाउन नसक्नु चाहीँ मेरो कमजोरी भयो ।’

गोर्खा मिडियामा जिबी राईसँग मिलेर काम गर्दा अहिले चर्चामा आएका विषयहरु आफूले सुइँको पनि नपाएको उनले बताए । उनले आफूले छोडेर गएको डेढ वर्षपछिमात्रै सहकारी ठगीको बारेमा उजागर भएको बताए । ‘मैले हेर्दाखेरी त्यतिखेरसम्म मेरो जानकारीमा आएको कुरा नभएको कारणले जानेर बुझेरै (संगत) गरेको हो । म छोडेर गएको डेढ वर्षपछि विभिन्न अनुसन्धानले जानकारी आएपछि थाहा भएको कुरा हो नि त । त्यतिखेर आएको भए, त्यतिखेरै तत्काल थाहा हुन्थ्यो । जतिखेर उजागर हुन्छ, त्यतिखेर हेरिन्छ । त्यतिखेर थाहा नहुनु स्वभाविक हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्