Logo

शान्ति प्रक्रियामा आएको १८ वर्षपछि प्रचण्डले सम्झिए पूर्व जनमुक्ति सेना र मिलिसिया



काठमाडौं, ८ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को आम निर्वाचनको तयारीका लागि पूर्व जनमुक्ति सेना र मिलिसियाहरुको खोजी गर्न आग्रह गरेका छन् । आज (शनिबार) नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिको ८औं भेलालाई सम्बोधन गर्दै उनले उनीहरुको खोजी गरेर एकतावद्ध गर्नुपर्ने बताए ।

‘हाम्रो जनमुक्ति सेनाका, मिलिसियाका वा विभिन्न संगठनका हाम्रा कार्यकर्ताहरुको लिस्ट बनाउन पर्यो । पालिका–पालिकाले आफ्नो पालिकाभित्रका कति बाहिर छन् ? कति विदेशमा, कुन देशमा छन् ? कति देशभित्रै कहाँ छन् भन्ने कुराको तथ्याङ्क राख्नुपर्यो र तिनलाई पनि अपिल गर्नुपर्यो,’– उनले भने ।

साथै, उनले २०८४ को निर्वाचनबाट माओवादी पार्टीलाई बलियो बनाउन ०६४ मा माओवादीलाई भोट हाल्ने जनताको घर–घरमा गएर आत्मसमीक्षा गर्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे । अध्यक्ष प्रचण्डले ०६४ मा माओवादीलाई भोट दिने जनताको छोराछोरीहरु पनि मतदान गर्न योग्य भइसकेको बताउँदै उनीहरुको पनि खोजी गर्न निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस्