काठमाडौं, ९ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धोका खान तयार भएपछिमात्रै केपी शर्मा ओलीले धोका दिएको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीले धोका दिन्छन् भन्ने जानीजानी प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेको बताएका हुन् । नेता बिडारीले ‘कांग्रेससँगको गठबन्धन तोड्नु मेरो कमजोरी भयो’ भनेर पार्टी बैठकमा र आफूसँग व्यक्तिगत रुपमा पनि प्रचण्डले पटक–पटक भनेको बताए ।
‘धोका खान जो तयार हुन्छ, उसले धोका खान्छ । प्रचण्ड हाम्रो अध्यक्षज्यू धोका खान तयार हुनुभयो । ओलीजीले धोका दिनुहुन्छ भनेर हामीलाई दुई वर्ष अगाडि नै पढाउनु भएको थियो । त्यसकारण प्रचण्डले के भनिसक्नुभयो भने– कांग्रेसको गठबन्धन तोडेर अन्तिम अवस्थामा एमालेसँग गठबन्धन गर्नु मेरो कमजोरी भयो भनेर प्रचण्डले बैठकमा र हाम्रो व्यक्तिगत छलफलमा भन्नुभएको छ ।’ उनले भने, ‘कहिले काहीँ अरुलाई चक्मा खुवाउँछु भन्दै आफैं खाइन्छ, अब ओलीजीको धुर्त्याइँ मैले बुझिन भन्नुहुन्छ । त्यति किन नबुझेको त ? त्यो त लाटाले पनि बुझेको छ । पहिला के गर्नुभएको थियो ?’
अहिलेका राजनीतिज्ञहरुले राजनीति भनेको कूटिल चाल भन्ने बुझेको बताउँदै उनले त्यसमा आफ्नो मत फरक रहेको बताए । नेता बिडारीले राजनीतिलाई ‘राज्यको जनताको हितका निमित्त गरिने नीति’ को संज्ञा दिए । उनले अहिलेका नेताहरुको राजनीतिप्रतिको बुझाइ बड्याइँ, फट्याइँ, चतुर्याइँ, धुर्त्याइँ रहेको बताए । उनले प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा फेरि नजिकिएको संकेतसमेत गरे ।
साथै, पार्टीमा अहिले प्रचण्डको विकल्प नरहेको र कसैले पनि प्रचण्डले नेतृत्व छाड्नुपर्छ भनेर नबोलेको उनको दाबी छ । ‘अस्ती बैठकमा म पनि थिएँ । राम्रै छलफल भएको छ । जनार्दनजीले पनि आजै छोड्नुपर्छ भन्ने कुरा गरेको होईन । वैकल्पिक नेतृत्वलाई तयारी पार्नका निमित्त प्रचण्डले मार्ग प्रशस्त गर्नुपर्यो अथवा प्रचण्ड त्यसमा लाग्नुपर्यो । पार्टीको नेतृत्व गर्ने अबको उत्तराधिकारीहरु चयन गर्नका निमित्त भन्नु भएको हो । प्रचण्ड हट्ने हटाउने कुरा छैन, नेतृत्व तयार गर्ने कुरा हो । प्रचण्ड नेतृत्वबाट हट्नुहुन्न । यो कसैको माग छैन,’– उनले भने ।