Logo

सरकारलाई माओवादी नेतृको चेतावनीः ‘संविधान लागू नै नभई संशोधन गर्दा खाल्डोमा परिएला’



काठमाडौं, ९ भदौ । नेकपा (माओवादी केन्द्र) कि नेतृ एवं राष्ट्रिय सभा सदस्य रेनु चन्दले सरकारले लाशमाथि पनि विभेद गरिरहेको टिप्पणी गरेकी छन् । आज (आइतबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले दैनिक दुर्घटना भइरहेको र सरकारको प्रभावकारिता नदेखिएको बताईन् । उनले प्लेन दुर्घटना र बस दुर्घटनामा मृत्यु भएकाहरुलाई वर्गीकरण गरेर सरकारले लाशमाथि पनि विभेद गरेको उनको टिप्पणी छ ।

‘दैनिक दुर्घटनाको समाचार आइरहेको छ । मानिसहरुको ज्यान गइरहेको छ । सरकारको प्रयासहरु प्रयाप्त देखिँदैन । मृत्यु भएपछि केही दिने घोषणा गर्नेबाहेक, त्यसमा पनि प्लेनमा र बस दुर्घटनामा परेर मरेकाहरुको वर्गीकरण गरिएको छ । यो सरकारले जिउँदाको मात्रै होईन लाशमाथि पनि विभेद गरिदिएको छ,’– उनले भनिन् ।

साथै, संविधान संशोधनको विषयमा उनले सरकारले स्पष्ट धारणा माग गरिन् । सुशासन र भ्रष्टाचार नियन्त्रणको ईश्यूलाई डाइभर्ट गर्नका लागि संविधान संशोधनको विषय उठाइएको हुनसक्ने उनको आशंका छ । उनले एमाले, कांग्रेस कसैले पनि २०७९ मंसिरमा भएको आम निर्वाचनको चुनावी घोषणा पत्रमा संविधान संशोधन गर्छौं भनेर नलेखेको बताउँदै अहिले सो विषय जनताबाट अनुमोदन नभएको बताईन् । संविधान लागू नै नभइ संशोधन गर्दा खाल्डोमा पर्न सकिने उनको चेतावनी छ ।

‘पहिला संविधान लागू गरौं, समीक्षा गरौं, त्यसपछि संशोधनको कुरा आयो । डाइरेक्ट जम्प लगाउँदै हुनुहुन्छ, खाल्डोमा परिएला,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्