काठमाडौं, ९ भदौ । झापाको अर्जुनधारा नगरपालिका–५ मा १६ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ । उक्त घटना गत शुक्रबार राति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले बताए ।
सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् । सो घटनामा संलग्न १ जना भने अझै फरार रहेको डीएसपी चन्दले बताए । डीएसपी चन्दका अनुसार पीडितले शुक्रबार राति पहिला ३ जनाले र फेरि फरक ठाउँमा अरु ४ जनाले आफूमाथि बलात्कार गरेको बताएकी छन् ।
‘एक जना १६ वर्षीय पीडितको जाहेरी परेको छ । हामीले पीडितको जाहेरी परेलगत्तै घटनाबारे अनुसन्धान सुरु गरेका छौं । पीडितले पहिला ३ जनाले र फेरि राति रिसोर्टमा पुर्याएर थप चार जनाले आफूमाथि जबरजस्ती करणी गरेको बताएकी छन् । पीडितको स्वास्थ्य परीक्षण पनि गरिएको छ । हामीले अहिलेसम्म ६ जनालाई पक्राउ गरिसकेका छौं । एक जना आरोपित फरार छन् । आरोपित सबै जनाको उमेर २० वर्षभन्दा माथि छ,’– डीएसपी चन्दले भने ।