Logo

माओवादी केन्द्र गण्डकीको परामर्श बैठक पोखरामा, प्रचण्ड पनि पुगे



काठमाडौं, ९ भदौ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय परामर्श बैठक आजबाट गण्डकीमा सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्र गण्डकी प्रदेशले जनाएको छ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक सम्पन्न भइसकेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा सहभागी भएका छन् । उनले केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको परामर्श लिने बताइएको छ ।

प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराउने र नेताहरूको सुझाव सुन्ने क्रम जारी रहेको छ । बागमती प्रदेशको बैठक सम्पन्न भइसकेको छ ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ।

परामर्श बैठक कहाँ कहिले ?

बागमती प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ५ र ६ गते । (सम्पन्न भइसकेको)

उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के।स। तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते । (सम्पन्न भइसकेको)

गण्डकी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ९ र १० गते ।

सुदूपश्चिम प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १२ र १३ गते ।

कर्णाली प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १४ र १५ गते ।

लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते ।

तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते ।

मधेश प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २२ र २३ गते ।

कोशी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २४ र २५ गते ।

जनवर्गीय संगठन मोर्चामा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठक भदौ २७ र २८ गते ।

प्रवास प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ३१ र असोज १ गते ।

जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते ।



प्रतिक्रिया दिनुहोस्