Logo

कांग्रेसको घोडा चढेर अगाडि बढेको एमाले सिद्धिने बाटोमा छः झलनाथ खनाल



काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले सिद्धिने बाटोमा अगाडि बढेको टिप्पणी गरेका छन् । आज (आइतबार) पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोडा चढेर प्रधानमन्त्री बनेसँगै एमाले सिद्धिने बाटोमा अगाडि बढेको बताएका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकार पनि कांग्रेसको गतिमा अगाडि बढिरहेको उनले दाबी गरे । प्रधानमन्त्री ओलीलाई अहिले आफ्नो विवेकले काम गर्ने कुने छुट नरहेको उनको दाबी छ । नेता खनालले कांग्रेससँग मिलेर ओलीले सरकार बनाएसँगै एमाले पंतिमा विरोध, असन्तोष, आक्रोश बढेर गएको बताए ।

‘केपी ओलीको नेतृत्व घोर दक्षिणपन्थी अवसरवादतर्फ गयो । अब कांग्रेसको घोडा चढेर ऊ प्रधानमन्त्री भइरहेको छ । कांग्रेसको गतिभन्दा बाहिर केही पनि हिड्न पाउँदैन एमाले । घोडा जति डौडिन्छ, त्यति न हो दौडने । त्यस कारणले अहिले कांग्रेसको गतिमा एमाले नेतृत्व हिँड्दैछ । त्यसकारण एमाले पंतिमा विरोध, असन्तोष, आक्रोश निरन्तर बढेर गइरहेको छ । नेतृत्व र पंतिबीचको अन्तरविरोध बढ्दो अवस्थामा छ । असन्तुष्टि बढ्दो अवस्थामा छ । उनीहरु हामीलाई सिध्याउने कुरा गर्छन्, तर उनीहरु आफैं सिद्धिने बाटोमा छन्,’– उनले भने । Photo By: Mukunda kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्