Logo

प्रहरीलाई प्रधानमन्त्री ओलीको सुझावः ‘पुरानो घुमुवा तरिकाबाट कुनै उपलब्धी हुनेवाला छैन’



काठमाडौं, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले अपराध रोकथाममा बढी ध्यान पुर्याउनुपर्ने आवश्यक्ता औंल्याएका छन् । आज (सोमबार) जिल्ला प्रहरी परिसर काठकमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अपराध रोक्थाम गर्न सकेको खण्डमा समाजलाई क्षतिबाट रोक्न सकिने बताए ।

‘अपराधको रोकथाम, अपराध हुनै नदिने पहिलो कुरा यसलाई हामीले छानविन, अनुसन्धानभन्दा कम महत्व दिन हुँदैन । अपराध हुनै नपाओस् भन्नेतर्फ ध्यान दिन, त्यसको निमित्त म तपाईँहरुलाई सुझाव भन्न चाहन्छु, पुरानो घुमुवाको तरिकाबाट कुनै पनि उलब्धी हुनेवाला छैन । पुरानो घुमुवाको तरिका होईन, अब यसलाई नयाँ तरिकाले विकास गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘वेल इक्युप्ट बनाएर अनुसन्धानभन्दा अगाडिको अनुसन्धान, अपराधपछिको अनुसन्धान होईन कि अपराध कसैले गराउन खोजेको छ भनेदेखि त्यसलाई पहिले नै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान धेरै महत्वपूर्ण छ । त्यसो भयो भने समाजमा क्षति हुँदैन ।’

अहिलेको सरकारले ‘फलानो अपराधी हो तर त्यसलाई नसमाउ’ भनेर आदेश नदिने उनले बताए । प्रधानमन्त्री ओलीले प्रहरीहरुलाई ऐन कानुनको अधिनमा रहेर ढुक्कले काम गर्न निर्देशन दिए । ‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाउ भनेर आदेश दिँदैन । अहिलेको सरकारले फलानालाई फसाउ भनेर तपाईँहरुलाई आदेश दिँदैन । ढुक्कले काम गर्नुस् । निर्दोष मान्छे फसाउनु, राज्य भएर, राज्यको शक्ति प्रयोग गरेर निर्दोषलाई दोषी करार गर्ने जस्तो कृयाकलाप भनेको राज्यको तर्फबाट गरिने अपराधिक क्रियाकलाप हुन् । तपाईँहरु ढुक्कले काम गर्नुुस्, प्रहरीलाई हामी प्रोत्साहन पनि गर्छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्