Logo

गृहमन्त्री लेखकलाई धमलाको सुझावः ‘सहकारी पीडितलाई न्याय दिने हो भने पहिला ठगहरुलाई जेल कोच्नुस्’



काठमाडौं, १० भदौ । सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दवाब मूलक बृहत सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो । महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औं दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलनको विकल्प रोज्नुपरेको बताइएको छ ।

सो कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले सरकारले सहकारी पीडितलाई न्याय नदिएसम्म अब चुप लागेर बस्न नहुने बताए । पीडितहरुको आवाज सरकारले नसुनेको उनले बताए । अहिले सहकारी पीडितहरु सबैभन्दा ठूलो पीडामा रहेको उनले बताए ।

‘अहिले देशमा सबैभन्दा ठूलो पीडा सहकारी पीडितहरुको छ । उनीहरुको घरबार छैन, कमाएर संकलन गरेको पैसा ठगहरुले खाए, सम्पत्ति जोडे, आलिसान महल बनाएर बसे । अब त्यस्तालाई राज्यले छोड्न हुँदैन । गृहमन्त्री रमेश लेखकलाई मेरो आग्रह छ– तपाईँको अग्निपरीक्षा सुरु भयो । तपाईँले सहकारी पीडितलाई न्याय दिने हो भने पहिला सहकारी ठगहरुलाई पक्रिएर जेलमा कोच्नुस् । ठगहरुको सम्पत्ति राष्ट्रियकरण गरेर पीडितहरुलाई पैसा फिर्ता दिनुस्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्