Logo

प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझावः ‘आफैं बोक्सी आफैं झाँक्री हुने काम बन्द गर्नुस्’



काठमाडौं, ११ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डेडिकेटेड, ट्रंक लाईन विवादको शुत्रधार प्रधानमन्त्री केपी शर्मा ओली रहेको टिप्पणी गरेको छन् । आज (मंगलबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणमाथि पटक–पटक हस्तक्षेत्र परेको बताएका हुन् । उनले प्राधिकरणले २१ अर्ब २२ करोडको विल काटेर उद्योगी, व्यवसायीबाट बक्यौता असुल गर्न पटक–पटक प्रयास गरेपनि प्रधानमन्त्री ओलीले सधैं हस्तक्षेप गरेको उनको आरोप छ । प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले बक्यौता उठाउन खोज्दा तत्कालीन समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट सात दिने स्पष्टीकरण सोधेको प्रचण्डले स्मरण गराए । डेडिकेटेड, ट्रंक लाईन विवादमा प्रधानमन्त्री ओली पानीमाथिको ओभानो हुन नमिल्ने उनको धारणा छ ।

‘प्राधिकरणलाई आफ्नो काम आफैं गर्न नदिएर यो विवाद निम्त्याएको कसले हो ? यो समस्या कसले निम्त्यायो ? म प्रष्ट भन्न चाहन्छु– यो समस्याको उठान वर्तमान प्रधानमन्त्री ओलीजीले नै गर्नुभएको हो । २०७५ साल वैशाख ३१ गते ट्रंक लाइन र डेडिकेटेड लाइनको विषयमा प्राधिकरणले बनाएको अध्ययन समितिले ६१ वटा औद्योगिक घरानाले ट्रंक लाइन र डेडिकेटेडबाट विद्युत लिइ महशुल नतिरेको प्रतिवेदन दिएपछि विल काट्न सुरु भएको थियो । पैसा उठाउन केही उद्योगको लाइन काटियो पनि । त्यो लाइन जोड्न ठाडो निर्देशन दिने को ? त्यतिबेलै प्रधानमन्त्री केपी ओली जी । पछि तीन÷तीन जना मन्त्री र सचिवसहितको समिति बनाएर अर्को निर्देशन नभएसम्म लाइन तत्काल जोड्न र लाइन नकाट्न आदेश दिने को हो ? त्यो पनि प्रधानमन्त्री केपी ओलीजी नै । त्यही समितिले बीचको अवधिको मात्रै महशुल उठाउने सिफारिस कार्यान्वयन गर्न मन्त्रिपरिषद्बाट निर्णय गर्ने को ? त्यो पनि सम्माननिय प्रधानमन्त्री केपी ओलीजी नै ।’ प्रचण्डले भने, ‘अनि अहिले पैसा कसले घटायो भनेर फेसबुकबाट सोध्ने को ? त्यो पनि केपी ओलीजी नै । बडो विचित्र छैन त यो परिघटना ? पैसा उठाउनु त परको कुरा, लाइन काटेको भनेर प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने नियतका साथ मन्त्रिपरिषदबाट सात दिने स्पष्टीकरण सोध्ने को ? त्यो पनि प्रधानमन्त्री केपी ओलीजी नै । अहिले पानीमाथिको ओभानो हुन मिल्दैन प्रधानमन्त्रीजी । प्राधिकरणले २१ अर्ब ८८ करोडकै विल काटेको छ । प्राधिकरणलाई दोष दिने कहीँ पनि ठाउँ छैन । उसले २१ अर्ब ८८ करोडको विल काटेको छ, घटाउने कहीँ पनि भनेको छैन । अबको क्याविनेटबाट यो असुल गर्ने निर्णय गर्नुस्, आफैं बोक्सी आफैं झाँक्री बन्ने काम बन्द गरियोस् ।’



प्रतिक्रिया दिनुहोस्