Logo

महामन्त्रीद्वय शर्मा र थापा अडानबाट टसमस नहुँदा संकटमा देउवा



काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्माले आफ्नो अडान नछाड्दा सभापति शेरबहादुर देउवा संकटमा परेका छन् । आज (मंगलबार) सभापति देउवाले बुढानीलकण्ठमा महामन्त्रीद्वय र उपसभापति धनराज गुरुङ र पूर्णबहादुर खड्कालाई बोलाएका थिए ।

पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको अवस्थामा देउवाले महामन्त्री र उपसभापतिहरुलाई बोलाएर मध्यमार्गी उपाय निकाल्न खोजेका थिए । पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने प्रस्ताव राखेका थिए । गठबन्धन गर्दा कांग्रेस कमजोर हुँदै गएको उनको दाबी थियो । अर्का महामन्त्री शर्माले ‘एक्जिट पोलिसी’ को प्रस्ताव अगाडि सारेका थिए । उनको प्रस्तावमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेका थिए ।

महामन्त्रीद्वयको प्रस्तावमा पार्टी केन्द्रीय समितिमा ब्यापक छलफल भइरहेको छ । देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणाले केन्द्रीय समितिमा महामन्त्री शर्माको प्रस्तावमाथि ठाडो आलोचना गरेकी थिईन् । महामन्त्री शर्माले अगाडि सारेको एक्जिट पोलिसी लागू भएका पार्टी सभापति देउवा अब प्रधानमन्त्री बन्न पाउने छैनन् । यसअघि पाँचौ पटक प्रधानमन्त्री भइसकेका देउवा अब २३ महिनापछि प्रधानमन्त्री बन्ने लाईनमा छन् । एमाले र कांग्रेसबीच भएको पाँच बुँदे सहमतिमा २ वर्षपछि देउवालाई प्रधानमन्त्री बनाउने उल्लेख छ ।

महामन्त्रीद्वयलाई विश्वासमा लिएर मध्यमार्गी बाटो अपनाउने र मुखमै आएको प्रधानमन्त्री पद नगुमाउने पक्षमा देउवा छन् । यिनै विषयमा छलफल गर्नका लागि देउवाले महामन्त्री र उपसभापतिहरुलाई बुढानीलकण्ठमा बोलाएका थिए ।

तर, महामन्त्रीद्वय आफ्नो अडानबाट टसमस नहुँदा सभापति देउवा आत्तिएका छन् । उनले भदौ १२ गतेको केन्द्रीय समिति बैठक नै स्थगित गराएका छन् । अब केन्द्रीय समिति बैठक आगामी भदौ १६ गतेमात्रै बस्नेछ । सभापति देउवाले महामन्त्रीद्वयलाई भोलि पनि छलफलमा बोलाएको स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्