Logo

ओली-देउवाविरुद्ध नाराबाजी गर्दा पक्राउ परेका युवाहरुलाई तत्काल रिहाइ गर्न सांसद ढकालको माग, रवैया नदेखाउन सरकारलाई चेतावनी



काठमाडौं, १२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नेताहरुको विरोध गर्ने युवाहरुलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । सांसद ढकालले ती युवाहरुलाई तत्तकाल रिहाइ गरिनुपर्ने बताए । अराजक शैलीको बहानामा सरकारले ती युवाहरुलाई नियन्त्रणमा लिएर गलत गरेको उनको भनाइ छ ।

‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरुले विरोध भाषण गरे भन्छु म । यसलाई अराजक शैलीको बाहना लगाएर सरकारले ती युवाहरुलाई हिरासतमा राखेको रहेछ, यो विलकूल गलत भएको छ । विरोधका बोलीहरु त्यो पनि युवाले राखेको, राज्यले सुन्नसक्ने धैर्यता राख्नुपर्छ । युवाहरुले सिंहदरबारभित्रका बेइमानहरुलाई खबरदारी गर्दा यसरी समाउन पाइँदैन । म तत्काल रिहाइको माग गर्छु,’– उनले भने ।

त्यस्तै, सामाजिक सञ्जालमा स्टाटस लेखेकै भरमा देशभरका विभिन्न ठाउँका युवाहरुलाई राज्यले पक्राउ गरेको भन्दै उनले आपत्ति जनाए । उनले अन्तिम समयमा कमिलाको पनि प्वाँख पलाउने बताउँदै सरकारले रवैया देखाउँदै गएमा राम्रो नहुने बताए । ‘हामी पनि यस विषयमा संवेदनशील छौं । सरकारले यो विषयमा रवैया देखायो भने कमिलाको प्वाँख पलाएकोजस्तै हुन्छ । गृहमन्त्रीज्यूलाई म ध्यानाकार्षण गराउन चाहन्छु, गौरा पर्वको अवसरमा त्यहाँ आएका युवाहरुलाई समाउने हो भने टुँडिखेलभरी भरिएका युवाहरु सबै समाउनुपर्छ । क्यामेराले भेटेको, देखेको थिएन होला ? के गर्नुहुन्छ ? युवालाई त्रसित नबनाउनुहोला,’– उनले भने ।

गौरा पर्वको अवसरमा टुँडिखलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत सहभागी थिए । सो कार्यक्रममा युवाहरुले मुर्दावादको नारा लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्