काठमाडौं, १२ भदौ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को समन्वयमा कोशी प्रदेशको पूर्वाञ्चल क्याम्पसमा पनि ‘पेइड इन्टर्नसिप’ कार्यक्रम सञ्चालन गर्न विभिन्न ७ वटा कम्पनीहरूसँग सम्झौता भएको छ ।
नेविसंघ केन्द्रीय समिति र पूर्वाञ्चल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको समन्वयमा क्याम्पस प्रशासन र विभिन्न ७ कम्पनीबीच एमओयू (सम्झौता) मा हस्ताक्षर भएको छ ।
सम्झौतामा सहभागी कम्पनीमा रामेछाप शेर्पा कन्स्ट्रक्सन, सप्त भूमि एग्रो रिसर्च, भीमेश्वर ग्रुप, टाह्री बिल्डर्स, बस्नेत बिल्डर्स, रुपालाकी कन्स्ट्रक्सन र सिद्धार्थ कन्स्ट्रक्सन छन् । सम्झौताबाट पूर्वाञ्चल क्याम्पसमा अध्ययनरत सिभिल, कृषि र इलेकट्रिकल इन्जिनियरिङका विद्यार्थीहरूले पेइड इन्टर्नसिपबाट लाभ लिन सक्ने बताइएको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाका अनुसार यी कम्पनीहरूले पेइड इन्टर्नसिपमा सहभागी हुने विद्यार्थीलाई मासिक १५ हजार तलब सुविधा दिने सहमति भएको छ ।