काठमाडौं, १३ भदौ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीले सुरु गरेको हिंसात्मक आन्दोलनका कारण मुलुकले निकै दुःख पाएको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यो अवधिमा १७ हजारभन्दा धेरैले ज्यान गुमाउनुपरेको र कयौं भौतिक संरचनाहरु तहसनहस भएको बताए । माओवादीले त्यो घटना हिंसा थियो भनेर आत्मसात गर्नुपर्ने उनको भनाइ छ ।
‘माओवादीको हिंसाको कारणले गर्दा मुलुकले निकै ठूलो दुःख पायो । १७ हजारभन्दा बढी नेपाली जनताहरुले ज्यान गुमाउनुपर्यो । भौतिक संरचनाहरु तहसनहस र समाप्त भए । यो दुनियाँले स्वीकार गरेको तथ्य हो । माओवादीले यसलाई आत्मसात गर्नुपर्छ । हिंसाका कयौं घटनाहरु हामी अहिले धेरै उजागर गर्न चाहँदैनौं,’– उनले भने ।
माओवादीले हिंसा स्वीकार गरेर कानुनी कारबाहीको लागिसमेत सहमति जनाइसकेको बताउँदै उनले अहिले कुर्लनुको कुनै अर्थ नरहेको बताए । तत्कालीन समयमा माओवादीले हिंसा, हत्या, आतंक र क्रुरता अपनाएको उनको आरोप छ । उनले मानिसहरुलाई जिउँदै आगो लगाएर मारेको घटनालाई हिंसा भन्नु कुनै आपत्तिजनक नहुने बताए ।
‘शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन हामी कानुन बनाएर नै अगाडि बढ्दैछौं । त्यतिबेला ठूला–ठूला जघन्य अपराध र हिंसाका क्रुर घटनाहरुलाई कानुनी कारबाहीमा ल्याउनेगरी ती तथ्यहरुलाई स्वीकार गरेर दण्डित गरेर अगाडि बढ्ने भनेर कानुन नै बनाइसकेको अवस्थामा उहाँहरुले हिंसा भएको थिएन, हामीले शान्तिको मैनबत्तिमात्रै बालेर हिँडेका थियौं भनेर कुर्लनुको कुनै अर्थ छैन । त्यो हिंसा थियो, हिंसात्मक आन्दोलन थियो,’– उनले भने ।