Logo

महामन्त्रीद्वयको अडानबाट आजित भएका देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक



काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । आगामी शनिबार बिहान ९ बजेका लागि देउवाले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएका हुन् । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई सभापति देउवाले मध्यमार्गी बाटो खोजी गर्न आग्रह गरिरहेका छन् । महासमिति बैठकबाट पारित भएको महामन्त्रीद्वयको प्रतिवेदन जसरी पनि संशोधन गराउने पक्षमा देउवा छन् । यस विषयमा उनले महामन्त्रीद्वयसँग पटक–पटक छलफल गरिसकेका छन् । महामन्त्रीद्वय शर्मा र थापा आफ्नो अडानमा टसमस नभएपछि देउवा थप संकटमा परेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको छ । महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने प्रस्ताव राखेका थिए । गठबन्धन गर्दा कांग्रेस कमजोर हुँदै गएको उनको दाबी थियो । अर्का महामन्त्री शर्माले ‘एक्जिट पोलिसी’ को प्रस्ताव अगाडि सारेका थिए । उनको प्रस्तावमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेका थिए ।

महामन्त्रीद्वयको प्रस्तावमा पार्टी केन्द्रीय समितिमा ब्यापक छलफल भइरहेको छ । देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणाले केन्द्रीय समितिमा महामन्त्री शर्माको प्रस्तावमाथि ठाडो आलोचना गरेकी थिईन् । महामन्त्री शर्माले अगाडि सारेको एक्जिट पोलिसी लागू भएका पार्टी सभापति देउवा अब प्रधानमन्त्री बन्न पाउने छैनन् । यसअघि पाँचौ पटक प्रधानमन्त्री भइसकेका देउवा अब २३ महिनापछि प्रधानमन्त्री बन्ने लाईनमा छन् । एमाले र कांग्रेसबीच भएको पाँच बुँदे सहमतिमा २ वर्षपछि देउवालाई प्रधानमन्त्री बनाउने उल्लेख छ ।

महामन्त्रीद्वयलाई विश्वासमा लिएर मध्यमार्गी बाटो अपनाउने र मुखमै आएको प्रधानमन्त्री पद नगुमाउने पक्षमा देउवा छन् । यिनै विषयमा छलफल गर्नका लागि देउवाले महामन्त्रीद्वयलाई पटक–पटक छलफलमा बोलाएपनि उनी असफल हुँदै आएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्